कञ्चनपुरदेखि झापासम्म युवाहरू लागूऔषध दुर्व्यसनीमा, ४ जना पक्राउ

काठमाडौं । लागूऔषध दुर्व्यसनीको समस्या देशैभर देखिएको छ । पछिल्लो समय प्रहरीले लागूऔषधसहित युवाहरूलाई पक्राउ गर्न थालेको छ ।

प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटा बस्ने अर्जुन ऐरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६५ मिलिग्रामसहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

झापाको मेचीनगर नगरपालिका–१० खयरडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५०० मिलिग्रामसहित मेचीनगर नगरपालिका–१५ बस्ने २६ वर्षीय कैलाश थेबेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–१२ बस्ने ३२ वर्षीय तीर्थ स्याम्वो र हेटौंडा उपमहानगरपालिका–१३ बस्ने ४३ वर्षीय ईच्छा ठोकर रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी ईनार्वाबाट खटिएको प्रहरीले बा प्र ०३–००५ प ४१८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...