सुदूरपश्चिमबाट यस वर्षको मनसुन बाहिरिएको औपचारिक घोषणा

धनगढी । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको औपचारिक घोषणा गरेको छ ।

विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले मनसुन बहिर्गमन भएको जनाएको छ ।

बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन मिति २०८० असोज १९ का दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भूभागबाट बाहिरिएको छ ।’

नेपालका बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिएको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र थप जानकारी अद्यावधिक गर्दै जाने जनाएको छ ।

शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षाका कारण नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित
Loading...