काठमाडौं । आवेगमा विवेक गुमाउँदा लामो फन्दामा परिन्छ भन्ने उदाहरण धादिङ जिल्लामा देखा परेको छ ।
बाख्राले बाली खाएको सामान्य विषयको झोकमा आएको रिस सम्हाल्न नसक्दा प्रहरी हिरासतमा पुग्नुपरेको छ ।
धादिङको नेत्रावती गाउँपालिका–४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरुङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा स्थानीय ३६ वर्षीय मंगल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको छ ।
घटनाबारे थप सोधपुछको क्रममा पुरानो रिसइबी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । बाख्राले बाली खाएको विषयले अपराधको रूप लिँदा अब मंगल प्रहरी फन्दामा परेका छन् ।