झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बजार अनुगमन गरेको छ ।
मंगलबार नगर उपप्रमुख कल्पना जोशी पन्त नेतृत्वको टोलीले स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका पसलको अनुगमन गरेको हो ।
चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन गरिएको उपप्रमुख पन्तले बताइन् । ‘समय–समयमा बजार अनुगमन गर्दै आएका छौं,’ उनले भनिन्, ‘चाडपर्वमा हुने कालोबजारी, मनपरी मूल्यवृद्धि रोक्न र अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन अनुगमन गरिएको हो ।’
बजार अनुगमनलाई निरन्तरता दिइने उनले बताइन् । डेरी, किराना तथा सप्लायर्स, मासु पसल, फेन्सी पसल, मदिरा पसल र हस्पिटल गरी २७ पसलमा अनुगमन गरिएको छ ।
नगरपालिकाको अनुगमन समितिका सदस्य सचिव लक्ष्मीदत्त पाण्डेयका अनुसार ७ वटा डेरी, १० वटा किराना तथा सप्लायर्स, २ वटा एग्रोभेट, ३ वटा मासु पसल, १ फेन्सी पसल, १ मदिरा पसल र ३ वटा हस्पिटल तथा मेडिकल स्टोरमा अनुगमन गरिएको छ ।
‘अनुगमनको क्रममा म्याद नाघेका सामग्री, डेरी तथा मासु पसलमा सरसफाइ नभएको, मापदण्ड अनुसार सञ्चालन नभएको पायौं, अवैध रूपमा सञ्चालित पसललाई ७ दिनभित्र दर्ता प्रक्रियामा जान निर्देशन दिएका छौं,’ उनले भने, ‘विभिन्न समयको अनुगनले विगतको भन्दा सुधार पायौं ।’
दोस्रोपटक अनुगमन गर्दा अहिलेकै कैफियत देखिएका कारबाही गरिने उनले बताए । ‘अखाद्य, म्याद गुज्रिएका सामाग्रीहरुलाई जफत गरेर नष्ट गरेका छौं,’ उनले भने, ‘केही डेरीमा अखाद्य मिष्ठान्न, पाउरोटी, किराना पसलमा म्याद नाघेका सामान पाइएको थियो ।’
नगरपालिकाले २ टोली बनाएर बजार अनुगमन गरेको थियो । अनुगमन टोलीमा नगरपालिका कर्मचारी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधि नविन कलौनी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रतिनिधि हरिसिंह बोहरा लगायत सहभागी थिए ।