धनगढी । सुदूरपश्चिम प्रदेशसभा अन्तर्गत ४ वटा विषयगत समितिका सभापतिको चुनाव असोज १२ गते हुने भएको छ ।
प्रदेशसभा सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै चुनावको मिति घोषणा गरेको हो ।
असोज ११ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरी असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव हुनेछ ।
सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन् ।
जेठ ६ गते बसेको प्रदेशसभा दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं बैठकले विषयगत समिति गठन गरेको थियो । हालसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दै आएका छन् ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दल र १ स्वतन्त्र सांसद रहेका छन् ।