शिक्षकलाई गगन थापाको आग्रह : विधेयक संसद्मा हामी सच्याउँछौं, विद्यालय बन्द नगरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै थापाले विद्यालय शिक्षा विधेयकमा सुधार आवश्यक रहेकाले संसद्मा सच्याउने बताए ।

उनले लेखेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं ।’

नेपाल शिक्षक महासंघले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौं केन्द्रित भएका छन् ।

सांसद थापाले लेखेका छन्, ‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नैपर्नेछ । संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं । अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु ।’

आज बिहान गृह मन्त्रालयमा सरकार र शिक्षकबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । शिक्षक महासंघले आज पनि काठमाडौंमा प्रदर्शन गर्दैछ ।

सम्बन्धित
Loading...