ईलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिको बैठकजस्तै अब गठबन्धन बैठक पनि प्रत्यक्ष प्रसारण गर्ने आँट गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताए ।
ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरुको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारका सन्दर्भमा महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए ।
‘अनुसन्धानमा अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन,’ उनले भने, ‘नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्छ, कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्छ ।’
अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णय समेत पारदर्शी बनाउनुपर्ने उनले बताए । भ्रष्टाचारमा जोडिएका जोकोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ ।
जनता र युवा पिँढीमा रहेको नैराश्यता अन्त्य गर्न कांग्रेसले पहल गर्नुपर्ने उनले बताए । ‘इमान्दार भएर काम गरेमा परिवर्तन सम्भव हुन्छ,’ उनले भने ।