गृह मन्त्रालयमा सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । आन्दोलनका लागि काठमाडौं पुगेका शिक्षकका प्रतिनिधि र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

आज बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भए पनि सहमति जुट्न नसकेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

गृह मन्त्रालयमा बिहान ८–९ बजेसम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका निकट शिक्षक संगठनका पदाधिकारी सहभागी थिए ।

सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत छलफलमा सहभागी थिए ।

छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको जनाएका थिए । मन्त्री श्रेष्ठले शिक्षकका जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे पनि शिक्षक महासंघका प्रतिनिधिले मागबारे स्पष्ट बताएका छन् ।

वार्तामा सहमति नजुटेपछि शिक्षकहरू आज पनि प्रदर्शनमा उत्रिने भएका छन् । सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले असोज ३ गतेदेखि आन्दोलन थालेको छ ।

सम्बन्धित
Loading...