असोज १५ गते प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने सुदूरपश्चिम एमालेको निर्णय

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन व्यवस्थापन कमिटीको बैठकले असोज १५ गते प्रदेशभर अधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।

शनिबार र आईतबार बसेको बैठकले अधिवेशन प्रतिनिधि छनोट गर्ने मिति तोकेको हो ।

स्रोतका अनुसार अन्य प्रदेश जस्तै सुदूरपश्चिममा पनि १०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुने मापदण्ड बनाइएको छ । खुलातर्फका प्रतिनिधि पालिका भूगोलबाट छानिने छन् भने दलित प्रतिनिधिका लागि प्रदेशसभा निर्वाचन क्षेत्रलाई भूगोल मानिनेछ । प्रदेशसभा क्षेत्रबाट ७५ दलित पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुनेछन् । प्रतिनिधि छनोटमा ३३ प्रतिशत महिला र १० प्रतिशत युवालाई समावेश गरिने स्रोतले जनाएको छ ।

प्रतिनिधि छनोट सम्बन्धी विस्तृत मापदण्डबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने एमालेले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते नेकपा एमालेको प्रदेश अधिवेशन हुँदैछ । यसअघि भदौ २२ र २३ गते अधिवेशन गर्ने भनिए पनि पछि सारिएको थियो ।

हालसम्म लुम्बिनी प्रदेशमा अधिवेशन भइसकेको छ । बागमती प्रदेशमा उम्मेदवारी दर्ताको चरणमा रहेको एमाले अधिवेशन कर्णालीमा प्रतिनिधि छनोट भइसकेका छन् ।

सम्बन्धित
Loading...