‘हत्या गर्दा जेल जानुपर्छ भन्ने थाहा थिएन, मैले गल्ती गरें, अब माफी दिनुहोस्’

काठमाडौं । काठमाडौं तीनकुनेस्थित गैह्रीधारामा ४ जनाको सामूहिक हत्या गरेका आरोपी सञ्जय भण्डारीले आफूबाट गल्ती भएकाले माफी दिन प्रहरीसँग आग्रह गरेका छन् ।

आईतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने क्रममा प्रहरीले उनले हत्या गर्दा जेल जानुपर्छ, प्रहरीले पक्राउ गर्छ भन्ने आफूलाई थाहा नभएको बताएको जनाएको छ । जन्मजात बोल्न नसक्ने उनले कापीमा लेखेर बयान दिएको प्रहरीले जनाएको छ ।

उनले हत्याकाण्ड आफूले गरेको स्वीकारेका छन् । त्यसपछि उनले माफी माग्दै घर जान दिन आग्रह गरेका प्रहरीले जनाएको छ ।

स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौंको काँडाघारीस्थित वीरेन्द्रचोक बस्दै आएका थिए । केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरिएको र त्यही रिसइबीका कारण सामूहिक हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तीनकुनेको दिव्य सःमिलमा राईसँगै दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलको हत्या भएको थियो ।

सम्बन्धित
Loading...