धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले हरियाली प्रवद्र्धन अभियानलाई सफल पार्न अनेक प्रयास गरिरहेका छन् तर बदमासी पनि उस्तै भइरहेको छ ।
उपमहानगरको हरियाली प्रवद्र्धन अभियानलाई धक्का पुग्ने गरी बदमासहरूले विरुवा भाँच्ने, ट्री–गाड उखेल्ने गरिरहेका छन् ।
भदौ २३ गते धनगढी उपमहानगरपालिका–३ स्थित छ लेन सडकमा चौराह सब्जीमण्डी नजिक ट्री–गार्ड भित्रको बिरूवा भाँचेर क्षति पुर्याइएको थियो । त्यसपछि मेयर हमालले सामाजिक सञ्जालमार्फत त्यसो गर्ने व्यक्तिलाई देख्नेले खबर गर्न अनुरोध गरेका थिए ।
उनले लेखेका थिए, ‘आ–आफ्नो अगाडिका बिरूवाहरूको रेखदेख गरी धनगढी उपमहानगरपालिकाको हरियाली प्रवद्र्धन अभियानलाई सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’
मेयर हमालले त्यस्तै अनुरोध फेरि गर्नुपरेको छ । बिहीबार धनगढी उपमहानगरपालिका मिलन चोक नजिक छ लेन सडकको छेउमा रोपिएको बिरूवालाई संरक्षण गर्न लगाएको ट्री–गाड भाँचिएको छ ।
विभिन्न दाताबाट सहयोग जुटाएर मेयर हमालले वृक्षरोपण र टी–गार्डको व्यवस्था गरिरहेका हुन्छन् । तर मेयर हमालको निरन्तरको प्रयासलाई केही व्यक्तिले क्षणभरमै नष्ट गर्ने गरेका छन् । केही अपवाद बदमासी भए पनि हरियाली अभियानमा धनगढीमा नतिजा देखाउन थालिसकेको छ ।