लकडाउन अन्त्यपछि कोरोनाको जोखिम कति ?

काठमाडौं । काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ ।

बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप शुरू भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन ।

साना चिया पसलहरूमा चिया चुरोट खानेहरूको भीड पुरानै अवस्थामा फर्किसकेको छ । ठूला क्याफेहरू पनि भरिभराउ हुन थालेका छन् ।

बिहीवार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगर लगायतका तरकारीदेखि कपडा पसलहरूमा मानिसहरूको घुइँचो थियो । पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन् । पसलेहरूलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको देखिन्छ । पसले भीड लागेकोमा नै खुशी भएको देखिन्थे ।

शुरूशुरूमा दूरी कायम गरे पनि भीड बढ्न थालेपछि दूरी कायम गराउन नसकिएको पसलेहरू बताउँछन् । ‘शुरूशुरूमा दूरी कायम गरेरै बेच्थ्यौं,’ चाबहिलका एक तरकारी पसले भन्छन्, ‘लकडाउन खुलेसँगै मान्छे एकै चोटी आउँछन् । दूरी कायम गराउनै सकिँदैन ।’

प्रायः पसलहरूले ग्राहकका लागि स्यानिटाइजरको व्यवस्था हटाइसकेको देखियो । पहिले भएका ठाउँमा समेत अहिले भेटिएन । स्यानिटाइजरको प्रयोग गरेर व्यापारमा खर्च नबढाउने दाउमा क्याफे, पसलका साहुजीहरू भएको अनुमान सहजै लगाउन सकिन्छ । राजधानीका अधिकांश होटल क्याफेमा पहिला ग्राहक बसेको टेबल कुर्सीमा स्यानिटाइज नगरी अर्को ग्राहक बस्ने गरेका छन् ।

भित्तामा ‘सामाजिक दूरी कायम गरेर बसौं’ लेखिएको छ तर व्यवहारमा दूरी कायम छैन । मझौला र साना चिया पसलमा त दूरी कायम गर्ने ठाउँ पनि छैन । बस्ने ठाउँ साँघुरो छ । आउने ग्राहकमा पनि खासै सचेतता भएको देखिँदैन । पुरानै अवस्थामा झैं बस्ने खाने गरेका छन् ।

सरकारले लकडाउन खुलाएसँगै बुधवारबाट उपत्यकाभित्र सार्वजनिक सवारीहरू चल्न शुरू गरेका छन् । यात्रा गर्ने धेरै यात्रुहरूको भीड भने देखिँदैन । तर सबै सवारीचालकले सुरक्षा सामग्री भने अपनाएका छैनन् । बिहीवार राजधानीका चलेका सवारी हेर्दा एकाध चालकले फेस सिल्डसम्म लगाएको देखियो । बाँकीले भने मास्क मुख छोप्नभन्दा पनि चिउडोको सुरक्षा गर्न लगाएका थिए ।

सवारीमा यात्रुका लागि अरू सुरक्षा नभएको चालकहरूको भनाइ थियो । ‘यात्रुका लागि हामीले दूरी कायम गरेर राख्नेबाहेक अन्य सुरक्षा अपनाएका छैनौं,’ काठमाडौं–भक्तपुरका बस चालक लक्ष्मीनारायण सुलाले भने, ‘कार्यालय समयमा त यात्रुको चाप धेरै भएर दूरीसमेत कायम गराउन सकिँदैन । स्यानिटाइजर राखेर साध्य हुन्न । मास्क यात्रु आफैंले लगाएर चढ्छन् ।’

शहरमा कोरोना संक्रमणको सुरक्षा प्रबन्ध हेर्दा लाग्छ, मानिसले अब कोरोनासँगको लडाइ जितिसके । अब शहरमा जोखिम छैन । तर संक्रमित दिनानुदिन बढ्दै छ । बिहीवार मात्रै उपत्यकामा ९ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मानिसहरूले अहिलेको अवस्थालाई लिएर हेलचेक्याइँ गर्ने अवस्था नभएको विज्ञहरू बताउँछन् ।

उपत्यकामा बाहिरबाट आउने मानिसहरूको बढ्दो क्रम रहेको छ । उनीहरू आउनेबित्तिकै काममा निस्कने भीडभाडमा जाने भएकाले जोमिख बढी नै भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. अनुप बाँस्तोलाले बताए ।

‘सरकारले लकडाउन खोलेसँगै संक्रमित बढी भएको ठाउँबाट पनि उपत्यका आउने संख्या धेरै छ,’ उनले भने, ‘आउने मानिस क्वारेन्टीन बस्नेभन्दा, काममा फर्किन थालेका छन् । धेरैले सरकारले जारी गरेको मापदण्ड पनि पूरा गरेका छैनन् । जसले गर्दा उपत्यकामा जोखिम बढ्दो देखिन्छ ।’

कोरोना पछिको यो नयाँ जीवन भएकाले आम मानिसले नयाँ तरिकाबाट चल्न सिक्नुपर्ने उनले बताए । ‘कोरोनाको समयमा यो हाम्रो नयाँ जीवन हो,’ उनले भने, ‘हामीले नयाँ ढंगले जीउने बानी बसाल्नुपर्छ । आफ्नो सुरक्ष प्रबन्ध गरेर मात्र काममा निस्किनु पर्छ ।’

होटल, व्यवसायी, सवारी चालकलगायत व्यक्ति आफैंले सचेत नभए राजधानी कम नहुने उनले बताए ।

(आजको अन्नपूर्ण पोस्ट दैनिकमा उपेन्द्र अर्यालले लेख्नुभएको छ ।)

सम्बन्धित
Loading...