महेन्द्रनगर । निर्वाचनको खर्च विवरण समयमै सार्वजनिक नगरेबापत कञ्चनपुरबाट निर्वाचित परराष्ट्रमन्त्री एनपी साउँद र पूर्व मन्त्री रमेश लेखकले १५/१५ हजार रुपैयाँ जरिवाना तिरेका छन् ।
सांसदद्वय साउँद र लेखकले जरिवाना रकम बैंकमा दाखिला गरेर भौचर कार्यालयमा बुझाइसकेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले जानकारी दिए । खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरू निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ बमोजिम जरिवानामा परेका थिए ।
हाल साउँद परराष्ट्रमन्त्री र लेखक प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका केही व्यक्तिले अझै जरिवाना रकम बुझाउन बाँकी रहेकाले जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले ताकेता गरेको छ । कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै जरिवाना रकम दाखिला गर्न जानकारी गराएको छ ।
समयमै जरिवाना नतिरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ बमोजिम सरकारी बाँकी सरह असूलउपर गर्ने प्रक्रियामा निर्वाचन आयोग अगाडि बढेको छ ।
यस्तो छ कार्यालयको सूचना –