काठमाडौं । सर्वाेच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभाको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सर्वोच्चले कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गर्दै मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।
बैठकको सभाध्यक्ष रहेका सांसद इस्रायल मन्सुरीले मतदानको समय सकिएपछि मतदान गरेर विश्वासको मत दिएपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले थापाले लिएको विश्वासको मतमा सभाध्यक्षको मत समेत जोडेर बहुमत पुगेको भनी गरिएको घोषणालाई बदर गरिदिएको छ ।
सर्वाेच्च अदालतको पूर्ण इजलाशमा न्यायाधीश सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीले रिटमाथि सुनुवाइ गरेका थिए ।
सर्वाेच्चले संविधानको एउटै विकल्पमा पटक–पटक नगई अर्काे विकल्पमा जानु उचित हुने देखिएकोले संविधानको धारा १६८ उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।
केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रदेशसभामा बहुमत नहुँदा बलमिच्याइँ गरेर कोशी प्रदेशमा सत्ता टिकाउन खोजेका थिए ।