राष्ट्रपति र प्रचण्ड सरकारको निर्णय सर्वाेच्चबाट उल्टियो, रिगललाई दिएको आममाफी बदर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आममाफीलाई सर्वाेच्च अदालतले उल्ट्याइदिएको छ ।

जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णयलाई सर्वाेच्चले बदर गरेको छ ।

सर्वाेच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहाको निर्णयलाई बदर गरेको छ ।

रिगललाई माफी दिने निर्णय अपराध पीडितको हक प्रतिकूल देखिएको अदालतको ठहर छ । पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश गरेको छ ।

बाँकेको नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगल दोषी ठहर भएका थिए । नेपाली कांग्रेस निकट रहेकाले रिगलले सत्ताको शक्ति देखाउँदै माफी पाएको बताइन्छ ।

सम्बन्धित
Loading...