सुदूरपश्चिमको राजधानी सार्नेसम्मको योजना, गोदावरीबाट पहाड उक्लिएर मुख्यमन्त्रीको खुलासा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सभाले कैलालीको गोदावरीमा प्रदेशको स्थायी राजधानी बनाउने भनेर निर्णय गरेको वर्षाैं बितिसक्दा पनि निर्माण हुन सकेको छैन । अहिले आएर प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह राजधानी सार्नेसम्मको योजना रहेको बनाउन थालेका छन् ।

पहाड उक्लिएर डडेल्धुरा पुगेका मुख्यमन्त्री शाहले नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गोदावरीमा प्रदेश राजधानी हुने वा नहुनेबारे छिट्टै टुंगोमा पुग्ने बताए ।

प्रदेशको राजधानी गोदावरी हुने वा नहुनेबारे गठबन्धनका दलबीच छलफल थालिसकेको उनले खुलासा गरे । प्रदेश राजधानी कार्यान्वयनमा जानुपर्ने मुख्यमन्त्री नै अलमलमा देखिएका छन् । बरु उनी राजधानी सार्नतिर छलफल चलाइरहेका छन् ।

‘मैले गठबन्धनका दलहरूबीचमा छलफल सुरु गरिसकेको छु । गोदावरीमा राजधानी बनाउने दुईतिहाइको निर्णय पनि हो । विभिन्न कारणले त्यहाँ राजधानी बनाउने काम अघि बढ्न सकेको छैन,’ उनले भने, ‘अब हामी वन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयलसँग अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा अगाडि बढ्छौं ।’ गोदावरीमा राजधानी बनाउने नसकिने अवस्था आए त्यसको विकल्प खोजिने पनि उनले बताए ।

मुख्यमन्त्री शाहले भने, ‘राजधानीको विषयमा छिटोभन्दा छिटो हामी टुंग्याउने पक्षमा छौं । एकपटक संघीय सरकारसँग यहाँको सबै यर्थाथ परिस्थितिबारे जानकारी गराउँछौं । संघीय सरकार र सरोकारवाला मन्त्रालयले अनुमति दिए गोदावरीमै राजधानीको काम सुरु हुन्छ । यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौं ।’

तत्कालीन नेकपा नेतृत्वको सरकार भएका बेला २०७५ असोज १२ गते प्रदेश सभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने तेघरीमा बनाउने निर्णय गरेको थियो ।

सम्बन्धित
Loading...