धनगढी । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिइएको छ ।
सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक पर्व गौराका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदाका २ दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्व रहेको छ ।
गौरा पर्वमा गौरीदेवी र भगवान् शिवशंकरको उपासना गरिन्छ । पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान् शिवशंकरलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरूले सौभाग्य प्राप्तिका लागी निराहार व्रत बस्ने गरेका छन् ।