सोमबार राति कैलाली प्रहरीले हातहतियारसहित २ जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा थिए कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरी र धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाह। जीपमा सवार भएर पूर्व–पश्चिम राजमार्गबाट पूर्वतर्फ गइरहेका उनीहरुको साथबाट १२ बोर एक थान, कार्टिज १ थान, पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद भएको थियो।
प्रहरीले दुवै जनामाथि हातहतियार खरखजाना शिर्षकमा मुद्धा दर्तागरी थप अनुसन्धानका गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
वडाध्यक्ष चौधरीमाथि यसअघि पनि वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा चलेको खुलेको छ। वन मुद्धामा पक्राउ आदेश भएपछि वडाअध्यक्ष चौधरी फरार थिए।
डिभिजन वन कार्यालय कैलालीले वन अतिक्रमण तथा वन विनाश गरेको मुद्धामा उनी विरुद्ध गत असोज १९ गते नै पक्राउ पूर्जी जारी गरेको थियो। तर उनलाई पक्राउ गर्न सकिएको थिएन।
२०७४ सालमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा अध्यक्षको टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भएका थिए। पछि पुनः उनी नेपाली कांग्रेसमै फर्किएका थिए।