सार्वजनिक यातायात २ दिनभित्रै सञ्चालन गर्ने समझदारी

काठमाडौं । चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् ।

सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतले सञ्चालन गरेका थिएनन् ।

आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासंघले यातायात सञ्चालनको तयारी थालेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले २/३ दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी भोलि र पर्सी सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौं । मौद्रिक नीति ठीक छ । तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर मात्र हुँदैन ।’

सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैंक सावाँ र ब्याज ६ महिनादेखि १ वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुनर्कर्जाको व्यवस्था गरेको छ । कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ । जसले गर्दा यातायात सुचारु गर्न सहज भएको महासंघले जनाएको छ ।

मौद्रिक नीतिको कार्यविधि कस्तो आउँछ भनेर व्यवसायीले पर्खिएका छन् । उपाध्यक्ष स्वाँर भन्नुहुन्छ, ‘कार्यविधि आउनुपर्‍यो, यातायात क्षेत्रलाई राम्रै घोषणा भएको छ । तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण देखिन्छ, त्यो हेर्न बाँकी छ ।’

सरकारले तत्कालका लागि ५० प्रतिशत भाडा वृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरेको थियो । तर यातायात क्षेत्रलाई राहत प्याकेज दिनुपर्ने भन्दै ठूला व्यवसायीले गाडी चलाएका थिएनन् ।

महासंघले यही अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्ने नसकिने भन्दै भाडा वृद्धिको विरोध गरेको थियो तर मौद्रिक नीति आएपछि भने यातायात सञ्चालन गर्ने भएको छ । छोटो दूरीका यातायात खुला गरेपछि काठमाडौं उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस, मयुर यातायात, संयुक्त, महानगर, साझा यातायातले सेवा शुरू गरिरहेका छन् । ट्याक्सी तथा ट्याम्पो पनि सञ्चालन भएका छन् । आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेख्नुभएको छ ।

सम्बन्धित
Loading...