काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रमा विवाद समाधान हुन नसकिरहेका बेला जिल्ला पार्टी दाङले प्रेस विज्ञप्ति जारी गर्र्दै सडक र फेसबूकमा विवाद नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
केन्द्र पार्टीमा देखिएको विवादलाई लिएर सडक र सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी नगर्न नेकपा दाङले पार्टी सदस्यलाई निर्देशन दिएको हो ।
शनिवार बसेको कार्यालय बैठकले निर्णय गरेपछि प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ । बैठकपछि अध्यक्ष टिकाराम खड्का र सचिव तुलसीराम पुन ‘सुवास’ले विज्ञप्ति जारी गर्नुभएको छ ।
‘हाम्रो पार्टीको केन्द्रीय तहमा देखिएका कतिपय विवादले हाम्रो पार्टी पंक्ति र जनसमुदायमा निराशा उत्पन्न गरेको छ । संसारकै कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश दिन सफल भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाउन, लेनिनवादी संगठन सिद्धान्तका आधारमा पार्टी सञ्चालन गर्न नेतृत्व तहलाई हार्दिक अनुरोध गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘पार्टी केन्द्रमा देखिएको मत–मतान्तरलाई लिएर पार्टीका केही जिम्मेवार व्यक्तिहरूबाट नेतृत्वलाई आक्षेप लगाउने र सामाजिक सञ्जालहरुमा गालीगलौज गर्ने कार्य भइरहेको छ । यस्ता गतिविधिले अन्ततः पार्टीलाई नै कमजोर बनाउने हुँदा सडक तथा सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी सार्वजनिक गर्न, नगराउन हाम्रो पार्टीका सम्पूर्ण सदस्यहरूमा विशेष निर्देशन गरिएको छ ।’
बैठकले कोरोनाको महामारीबाट जनतालाई सुरक्षित गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि एवं सम्पूर्ण राजनीतिकर्मीहरूमा धन्यवाद दिने लगायतका निर्णय गरेको छ ।
