काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दै गइरहेको विवादबारे छलफल गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गराउन बालुवाटार पुर्याउने उद्देश्यसहित खटिएका ओलीका दूतलाई झड्का लागेको छ ।
प्रधानमन्त्री ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दूत बनेर बिहीबार प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको थियो । तर पोखरेलको प्रयास हात लाग्यो शुन्य भएको छ । प्रचण्डले बालुवाटार आएर ओलीसँग छलफल गर्न मान्नुभएन ।
बालुवाटार आएर भेटवार्ता गर्न ओलीले राखेको प्रस्ताव प्रचण्डले ३ दिनदेखि अस्वीकार गर्दै आउनुभएको स्रोतले जनाएको छ । प्रचण्डसँगको भेटका क्रममा पोखरेलले टेलिफोनमार्फत ओलीसँग कुराकानी समेत गराउनुभएको थियो । तर पोखरेलको प्रयास सफल हुन सकेन ।
मुख्यमन्त्री पोखरेलले अध्यक्षद्वयबीचको संवादहीनता तोड्न प्रचण्डसँग आग्रह गर्नुभएको थियो । गत मंगलबार ओलीलाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल भने बालुवाटार पुग्नुभएको थियो ।
प्रचण्डले मुख्यमन्त्री पोखरेललाई अहिले आफू बालुवाटार नजाने जवाफ दिनुभएको जनाइएको छ । नेता जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको र शर्मासँग आफ्नो पनि उठबस भएकाले केही दिनपछि मात्रै प्रधानमन्त्रीसँग भेट्नु स्वास्थ्यको हिसाबले उपयुक्त हुने जवाफ प्रचण्डले पोखरेललाई दिनुभएको छ । कोरोनाकै बहानामा नेकपाको केन्द्रीय कमिटी बैठक १ महिना पर सार्दै मंसिर १५ गतेका लागि तोकिएको छ ।
गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले कात्तिक १५ गते केन्द्रीय कमिटी बैठक बसेर चैतमा तोकिएको एकताको महाधिवेशनबारे तयारी थाल्ने निर्णय गरेको भएपनि ओली–प्रचण्डबीचको मतभेदकै कारण स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन भइरहेका छैनन् ।
ओली–प्रचण्डबीच विगत १० दिनयता संवाद हुन सकिरहेको छैन । गत कात्तिक ४ गते ओली र प्रचण्डबीच कर्णाली प्रदेशको विवाद हल गर्न भएको छलफलबारे ओली र प्रचण्डका तर्फबाट छुट्टाछुट्टै प्रेस नोट जारी भएपछि विवाद चर्किएर भेटवार्ता हुन सकेको छैन । मन्त्रिपरिषद् पुनर्गठनमा ओलीले एकलौटी गरेपछि असन्तुष्ट प्रचण्ड कर्णाली प्रदेशबारेको विवादमा पनि ओलीले एकलौटी गर्न खोजेपछि रिसाउनुभएको छ ।