माओवादी नेताको हत्या गर्ने उनकी श्रीमतीसहित ११ जना जेल चलान

नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेलाई गोली हानी हत्या गरेको आरोप लागेका ११ जना सबै पुर्पक्षको लागि कारागार चलान भएका छन्।

बिहीबार जिल्ला अदालत कपिलवस्तुले हत्यामा संलग्न मुख्य अभियुक्त पाण्डेकी श्रीमती महिमा र ओमप्रकाश यादवसहित ११ जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको हो।

कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार घटनामा महिमा, उनका ब्वाईफ्रेण्ड ओमप्रकाश यादव लगायतको संलग्नता थियो।

प्रहरीले अनुसन्धानपछि पाण्डेकी श्रीमती, योजनाकार ओमप्रकाशसहितका ११ जनालाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। पुर्पक्षमा जेल जानेमा रमजान साह मुसलमान, साकिर अलि पखिया छन्।

यस्तै, कारागार चलान भएका अन्यमा पूर्णवीर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नरसत अलि र प्रविण गुप्ता रहेका छन्।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार महिमाले आफ्ना श्रीमानको हत्याका लागि विभिन्न समयमा यी व्यक्तिहरूलाई प्रयोग गरेकी थिइन्। गत जेठ ५ गते ओमप्रकाश यादवसहित तीन जनालाई उनले श्रीमानको हत्याका लागि ‘सुपारी’ दिएकी थिइन्।

यादवसहित तीन जनाको समूहले पाण्डेलाई दुई गोली हानेका थिए। गोली लागेर घाइते भएका पाण्डेको भैरहवास्थित मेडिकल कलेजमा उपचार हुन नसकेपछि हेलिकप्टरमा काठमाडौं ल्याउने क्रममा मृत्यु भएको थियो।

सम्बन्धित
Loading...