काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष असोज १३ गते खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताउनुभएको थियो ।
उहाँले भन्नुभएको थियो, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’
देश छिट्टै सडक मानवमुक्त हुने भनेको १ वर्ष पूरा भइसक्दा समेत प्रधानमन्त्री ओलीकै गृहनगर झापा जिल्लाको दमकका जनता सरकार कहाँ छ भनेर सोधिरहेका छन् ।
प्रधानमन्त्री ओलीले भाषणहरू गफ दिँदै देशभरका सडकहरू ‘सडक मानवमुक्त’ बनेको बताउने गरेपनि उहाँकै गृहनगरमा सडक मानवहरू छ्याप्छ्याप्ती देखिन्छन् । प्रधानमन्त्रीकै गृहनगरमा यस्तो छ भने अरु ठाउँको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
प्रधानमन्त्री ओलीको गृहनगर झापाको दमक र आसपासका शहरहरू उर्लाबारी, पथरी क्षेत्रमा सडक मानवको उद्धार हुन सकेको छैन । दमकमै १ दर्जनभन्दा बढी सडक मानव रहेका छन् । अधिकांश व्यक्तिहरू मानसिक सन्तुलन गुमाएका छन् । तर सरकारले न उपचार गरेको छ, न गाँस, बासको व्यवस्था मिलाएको छ । प्रधानमन्त्री ओलीले गफ मात्रै धेरै दिने गरेका छन् ।
सडकमा रहेका मानवका लागि सरकारले केही नगरेपछि स्थानीय युवाले खाना खुवाउने काम गरिरहेका छन् । उर्लाबारी घर भई हाल कपनमा बालगृह सञ्चालन गर्ने खेमराज पुरीले सडक मानवका लागि खाना अभियान सञ्चालन गर्नुभएको छ ।
‘मानसिक सन्तुलन गुमाएकाहरूलाई न त पैसा भन्ने थाहा हुन्छ, न त खाना भन्ने नै । के खानुपर्छ भन्ने नै थाहा हुँदैन । त्यही भएर मैले यो अभियान चलाएको हुँ,’ उहाँले भन्नुभयो । घरमै बनाएको खाना उहाँका सहयोगी भाइ राजु सिवासहित दैनिक रूपमा बिहान ११ बजेदेखि मानसिक सन्तुलन गुमाएकाहरूलाई खाना खुवाउँदै हिँड्ने गर्नुभएको छ ।
‘घाँस खाने वन्यजन्तुलाई त घाँस मात्रै खानुपर्छै अरु हुँदैन भन्ने थाहा हुन्छ तर मानसिक सन्तुलन गुमाएकाहरुलाई त्यति नि थाहा हुँदैन । यस्ता मानिसहरूले माटो पनि खाइरहेको देखेको छु,’ पुरीले भन्नुभयो ।
मानसिक सन्तुलन गुमाएकाहरूलाई खाना खुवाउने अभियानमा सघाइरहेका सहयोगी राजु ४ वर्ष सडक बालक भएर हिँडेका युवा हुनुहन्छ । उहाँलाई पनि पुरीले उद्धार गर्नुभएको थियो । काठमाडौंमा अध्ययनरत १७ वर्षीय राजुले आफूले यस्ता व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
स्थानीय तहहरूले पनि मानसिक सन्तुलन गुमाएका सडक मानवको गाँस, बासको व्यवस्थाबारे कुनै काम गर्ने गरेका छैनन् ।