काठमाडौं । लुम्बिनी प्रदेश सभाले दाङको देउखुरीलाई प्रदेश राजधानी घोषणा गर्दा केही हप्ताअघि मुख्यमन्त्री शंकर पोखरेल चर्चामा आउनुभयो । पोखरेलले गृहजिल्लाका लागि राम्रो काम गरेको भनेर कतिपयले प्रशंसा पनि गरेका छन् ।
तर मुख्यमन्त्रीको गृहजिल्लाका नागरिकको कतिसम्म बेहाल भएको छ भन्ने उदाहरण कोरोनाले दिएको छ । दाङको लमही नगरपालिका–५ का एक कोरोना संक्रमित पुरुषको उपचार नपाई घरमै मृत्यु भएको छ ।
होम आइसोलेसनमा बसेको बेला लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलवार बिहान मृत्यु भएको छ । उहाँ जन्डिसको बिरामी भएर काठमाडौंमा उपचार गराई १ हप्ताअघि लमहीस्थित घर फर्किएका थिए ।
घर आइसकेपछि कोरोना परीक्षण गर्दा पतिपत्नी दुवैमा कोरोना संक्रमण देखिएपनि उपचारको व्यवस्था नहुँदा घरमै बसिरहेका थिए ।
दुवै पतिपत्नी १ हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका वडाध्यक्ष बिमबहादुर केसीले जानकारी दिनुभयो ।