काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै महासचिव पोखरेलले वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु रहेको बताए ।
उनले लेखेका छन्, ‘पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो ।’
नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिमाथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार रहेको उनले बताए । उनले भने, ‘भ्रममा नपरौं, यस्ताखाले षड्यन्त्रविरुद्ध गम्भीर बनौं ।’