काठमाडौं । सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई चाडपर्व दशैंतिहारका बेला कार्य क्षेत्र नछाड्न कडा निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सोमवार जारी गरेको विज्ञप्ति अनुसार कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिइनुपर्ने हुनसक्ने औंल्याउँदै दशैंको बेला बिदा नबस्न निर्देशन दिइएको छ ।
चाडपर्वका बेला आवागमन बढ्दा संक्रमणको जोखिम पनि वृद्धि हुन सक्ने गृहले औंल्याएको छ । ‘जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसम्भव उपाय गर्न गराउन दशैं बिदाको अवधिमा प्रजिअ र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिइसकिएको छ,’ गृहको विज्ञप्तिमा उल्लेख छ ।
गृहको परिपत्रसँगै प्रजिअहरूलाई बिदा बस्न रोक लागेको छ । गृहले निर्देशन दिनुभन्दा अघि नै सुरक्षा निकायले मातहतका सबै युनिटलाई परिपत्र गरेर चाडपर्वमा कर्मचारीलाई बिदा नछाड्न सर्कुलर गरिसकेको छ । गृहले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न पनि आम सर्वसाधारणसँग आग्रह गरेको छ ।
आवश्यक कामबाहेक घर बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, भोजभतेर नगर्न तथा जो–जहाँ छ, त्यहीँ बसेर पर्व मनाउन समेत आग्रह गरेको छ ।