कोरोना संक्रमितलाई छिट्टै घर पठाउन सरकारले गर्यो यस्तो निर्णय
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा सरकारले आइसोलेसनमा रहेका संक्रमितलाई छिट्टै घर पठाउने गरी निर्णय गरेको छ ।
सरकारी निर्णय अनुसार अब अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई पछिल्लो ३ दिनसम्म लक्षण नदेखिएमा १० दिनमै डिस्चार्ज गर्न सकिने भएको छ ।
अस्पतालमा भर्ना भई ३ दिनसम्म लक्षण वा चिह्न नदेखिएमा १० दिनमै डिस्चार्ज गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसअघि ३ दिनसम्म लक्षण नदेखिएमा १४ दिनपछि डिस्चार्ज गरिने प्रावधान थियो ।
‘संक्रमितहरूको डिस्चार्ज सम्बन्धमा भएको हालको व्यवस्था अनुसार १४ दिनमा लक्षण नभएका तथा लक्षण हराएको ३ दिन भएका व्यक्तिहरूलाई डिस्चार्ज गर्ने भनिएकोमा अब उप्रान्त पछिल्लो ३ दिन चिह्न र लक्षण नभएमा १० दिनमा डिस्चार्ज गरिने छ,’ प्रवक्ता गौतमले भन्नुभयो ।
अस्पतालबाट १० दिनमा डिस्चार्ज भएका व्यक्तिले कम्तिमा पनि ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने मापदण्ड समेत बनाइएको छ । सरकारले कोरोना संक्रमितको जिम्मेवारीबाट टाढा रहने गरी एकपछि अर्काे निर्णय गरिरहेको छ ।