काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि पर्याप्त काम गर्न नसकेको भनेर सर्वत्र विरोध भइरहेको छ । सरकारले कोरोना संक्रमितलाई अस्पतालमा राखेर उपचार दिन नसक्ने भयानक अवस्था छ ।
सरकारको निकम्मापनले सर्वसाधारण जनताको असामयिक मृत्यु त भइरहेकै थियो, सँगसँगै कम्युनिस्ट सरकारका हर्कतले जननेता बीपी कोइरालाको नामबाट स्थापित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत बदनाम हुने भएको छ ।
नेकपा सरकारले प्रतिष्ठानको व्यवस्थापन र पर्याप्त शय्याको व्यवस्था नगर्दा बिरामीको मृत्युसँगै स्थानीय जनता निराश हुनुपरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या अभाव भएको भनेर घर फर्काइएकी धरान–१५ की एक वृद्धाको होम आइसोलेसनमा मृत्यु भएको छ । वृद्धा कोरोना संक्रमित भएर अस्पतालमा ठाउँ नपाइएपछि छोरीका घरमा आइसोलेसनमा बस्नुभएको थियो ।
शनिवार श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि अस्पतालले शय्या अभाव भन्दै फर्काइदिएको थियो । घर फर्काइएको केही समयपछि ८३ वर्षीया वृद्धाको मृत्यु भएको धरान–१५ का वडाध्यक्ष नरेश इवरामले जानकारी दिनुभयो । उहाँलाई २ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिष्ठानमा शय्या अभाव भएको जनाउँदै अस्पतालले संक्रमितलाई भर्ना लिन छाडेको छ । अस्पतालका अनुसार भेन्टिलेटर सहितका १० शय्या भए पनि ६ वटा शय्या काम गर्दैनन् । सरकारले अस्पतालमा पर्याप्त स्रोतसाधनको व्यवस्थापन नगर्दा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ ।