विष्णु रिमालको ट्विटपछि बालुवाटारलाई नारायणकाजी श्रेष्ठको कडा जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तोकेरै सामाजिक सञ्जालमा आरोप लगाउनुभयो ।

रिमालले ट्विटमा लेख्नुभयो, ‘इनफ इज इनफ नारायणकाजी जी ! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्धति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकता विरूद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस् । मुलुक संवेदनशील मोडमा छ महसूस होस् !’

रिमालले खुलेआम रूपमा प्रवक्ता श्रेष्ठलाई नै किटान गरेर पार्टी एकता विरोधी गतिविधिको आरोप लगाउनुभयो । त्यसको जवाफ प्रवक्ता श्रेष्ठले शनिवार सामाजिक सञ्जाल फेसबूकबाट दिनुभएको छ ।

प्रवक्ता श्रेष्ठले बालुवाटारलाई संकेत गर्दै अहंकार र पूर्वाग्रहबाट माथि उठेर अतिवादबाट मुक्त हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी लगायत पार्टीका बैठक गर्न ढिलाइ गरिरहेका बेला श्रेष्ठले तत्काल बैठक राख्न माग गर्नुभयो ।

श्रेष्ठले लेख्नुभएको छ, ‘म फेरि जोड दिएर भन्छु – हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं । सबै बैठकमा उपस्थित भएर आ–आफ्ना विचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकता अनुसार शीर्षस्थ नेताहरूको बीचमा र सचिवालयमा गृहकार्य गरौं । बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं । यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौं । पार्टी भित्रको बहस र अन्तर्संघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको विषय होइन । पार्टी, कम्युनिस्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं । व्यक्तिगत आरोप, प्रत्यारोप वा गालीगलौजका रुपमा होइन, वैचारिक, ‪सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गरौं ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ लगायतले प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभएपछि नेपालमा विवाद चर्किएको छ ।

सम्बन्धित
Loading...