पूर्वमन्त्री थापासहित ठूलो समूह कांग्रेसमा प्रवेश

काठमाडौं । हालै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा सहितको समूह नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा थापा सहितका नेता कांग्रेस प्रवेश गर्नुभएको छ ।

थापासहितका करीब ३ दर्जन नेताले गत शनिबार राप्रपा परित्यागको घोषणा गर्नुभएको थियो । थापा राप्रपामा पारिवारिक राजनीतिक विरासत बोकेका नेता हुनुहुन्छ ।

नेता थापा राप्रपा संस्थापक तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ । उहाँ यसअघि राप्रपा संयुक्तका महामन्त्री हुनुहुन्थ्यो । उहाँ पछिल्लो पटक भएको राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट रहनुभएको थियो ।

नेता थापा २०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री समेत बन्नुभएको थियो । पछिल्लो समय विभिन्न पार्टीबाट नेपाली कांग्रेस प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ ।

सम्बन्धित
Loading...