एमाले र कांग्रेस मिलेर सरकार बनाउन सहकार्यका लागि भागबण्डाको यस्तो प्रस्ताव

काठमाडौं । पछिल्ला केही वर्षयता नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकारमा सहकार्य हुन सकेको छैन । कांग्रेस सरकारमा जाँदा एमाले सरकारबाहिर बस्छ भने एमाले सरकारमा जाँदा कांग्रेस सरकारबाहिर बस्दै आएको छ ।

यतिबेला कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत जुटाउन मुस्किल परिरहेका बेला नेकपा एमालेले नेपाली कांग्रेसलाई सरकारमा सहकार्यको प्रस्ताव गरेको छ, भागबण्डाको प्रस्तावसहित ।

कोशी प्रदेश सभाका ९३ सदस्यमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । एमालेले ठूला २ दल कांग्रेस र एमालेको सहकार्यमा दुईतिहाइको सरकार बनाउन प्रस्ताव गरेको छ ।

प्रदेश सभामा एमालेका ४० सांसद छन् भने कांग्रेसका २९ सांसद छन् । यी २ प्रमुख दल मिलेर सरकार गठन गरेमा दुईतिहाइभन्दा धेरै मत हुनेछ । ६३ सांसदको समर्थन भएमा दुईतिहाइ पुग्छ ।

हालको समीकरण हेर्दा कोशीमा एमाले र राप्रपा एकातिर तथा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा अर्काेतिर छन् । यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बहुमतको सरकार बनाउन खोजे पनि बहुमत नपुग्दा सर्वाेच्च अदालतले असंवैधानिक घोषणा गरेको थियो ।

हाल संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मतबहादुर कार्की मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री कार्कीसँग पनि बहुमत छैन । उनले पनि बहुमत पुर्‍याउन नसके धारा १६८(५) अनुसार सरकार बनाउन आह्वान हुने र त्यसपछि प्रदेशसभा विघटनको बाटोमा जाने देखिन्छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभालाई विघटनमा जान नदिन एमाले र कांग्रेस मिल्नुपर्ने प्रस्ताव गरेका छन् । उनले आधा–आधा कार्यकाल दुवै दलले मुख्यमन्त्री बाँड्न सकिने प्रस्ताव गरेका छन् । मुख्यमन्त्री कार्कीको प्रस्तावमा कांग्रेसको प्रतिक्रिया के आउँछ ? हेर्न बाँकी छ ।

सम्बन्धित
Loading...