परशुराममा कांग्रेस र माओवादीबीच बजेट द्वन्द्व ! मेयर जोशीविरुद्ध ‘अन्तिम अस्त्र’ प्रहार

धनगढी । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिबीच बजेट बाँडफाँटको विषयमा संघर्ष चर्किएको छ ।

नगर सभाबाट विनियोजन भएका बजेट हेरफेर गरी नगर प्रमुख (मेयर) भरत जोशीले बेइमानी गरेको माओवादीबाट निर्वाचित जनप्रतिनिधिको आरोप छ ।

माओवादीबाट निर्वाचित उपमेयर विमलाकुमारी बोहरासहित ३८ जना कार्यपालिका र नगरसभा सदस्यले बिहीबार मेयर जोशीलाई विशेष नगर सभा बोलाउन माग पत्र बुझाएका छन् । जोशी कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

नगर सभाबाट पारित आर्थिक वर्ष २०८०/०८१ को बजेट विपरीत हेरफेर गरेर बजेट पुस्तिका प्रकाशित गरेकोप्रति माओवादी जनप्रतिनिधिको आपत्ति छ ।

वार्षिक बजेट बनाउँदा नगर सभाका सदस्यबीच व्यापक छलफल भई बजेट पारित गरिएको र बजेट पारितपछि प्रकाशित बजेट पुस्तिकामा समग्र बजेटको सिलिङ नै बढ्ने गरी बजेटमा व्यापक हेरफेर भएकाले नगरसभा र कार्यपालिका सदस्यहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै मागपत्र बुझाइएको छ ।

मागपत्रमा लेखिएको छ, ‘स्थानीय सरकारको सर्वोच्च निकाय र विधायिकी अधिकार समेत भएको नगर सभाको निर्णयविपरीत भएको बजेटमाथिको हेरफेर तुरुन्त सच्याउन ध्यानाकर्षण गर्दछौं । साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४ सभाको बैठक र कार्य प्रणाली १९ को ३ बमोजिम अविलम्ब विशेष नगर सभाको आयोजना गर्न अनुरोध गर्दछौं ।’

विशेष नगरसभा नबोलाए बजेट संशोधनका लागि अन्य बाटोबाट जाने कार्यपालिका र नगरसभा सदस्यहरूले चेतावनी दिए । माओवादीले कांग्रेसी मेयर जोशीविरुद्ध ‘अन्तिम अस्त्र’ नै प्रयोग गरेको छ । बजेट पुस्तिकका विमतिलाई छलफलका माध्यमबाट पनि संशोधन गर्न सकिने भए पनि नगर सभा नै बोलाउनुलाई संघर्ष चर्किएको संकेत बुझिएको छ ।

नगर कार्यपालिकामा माओवादीको बहुमत छ । कार्यपालिकामा नेपाली कांग्रेसले नगर प्रमुखसहित ५ वडाध्यक्ष जित्दा माओवादीले उपाध्यक्षसहित ७ वडाध्यक्ष जितेको थियो । यसअघि माओवादीका स्थानीय नेता, कार्यकर्ताले सामाजिक सञ्जालमार्फत बजेट पुस्तिकामा आपत्ति जनाएका थिए ।

सम्बन्धित
Loading...