काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गरिहिँदै गइरहेको विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारभित्रै ठूलो धक्का लागेको छ ।
ओलीले नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना प्रवाह गरे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहुमत सदस्य सहभागी भएर बालुवाटारमै स्थायी कमिटी बैठक सुरू भएको छ ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी कमिटी बैठक बालुवाटारमै सुरू भएको जानकारी दिनुभयो । पार्टीभित्र विवाद बढिरहेका बेला शीर्ष नेताबीच सहमति नभई स्थायी कमिटी बैठक राख्न नहुने अडानमा प्रधानमन्त्री ओली हुनुहुन्थ्यो ।
प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरू पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक सञ्चालन गर्दै प्रक्रियामा अगाडि बढ्ने निष्कर्षमा पुग्नुभएको छ । नेकपाभित्र प्रचण्ड समूहले ओलीको राजीनामा माग्दै आएको छ ।
पार्टी स्थायी समितिकाे बैठक बालुवाटारमा शुरू ।
Posted by Bishnu Sapkota Jugal on Tuesday, July 28, 2020
अहिले चलिरहेको स्थायी कमिटी बैठकमा ४४ मध्ये २५ जनाको सहभागिता रहेको जनाइएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायत नेताहरू समेत सहभागी हुनुहुन्छ । यसअघि नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।