दुई दिनअघि प्रहरीले एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल समात्यो। ती मोटरसाइकल एउटा बुलेट र अर्को डुक थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दुबै मोटरसाइकलमा प्रदेश(२(१९ प ७५३७ नम्बर प्लेट थिए। बजारमा निकै महंगो मूल्य पर्ने यी दुबै मोटरसाइकल चोरीका थिए।
यी सँगै प्रहरीले अर्को प्रदेश २-१८प ९६२ नम्बरको चोरीको बुलेट मोटरसाइकल पनि बरामद गरेको छ।
शनिबार र शुक्रबार दुई दिनमा प्रहरीले तीन वटा चोरीका मोटरसाइकल राजधानीका विभिन्न ठाउँबाट समातेको थियो।
प्रहरीले प्रदेश-३-००२३-७६२३ नम्बरको एउटा कार पनि बरामद गरेको छ। हुण्डाई कम्पनीको त्यो सेन्ट्रो कार करिब २८ लाख रूपैयाँ मूल्यको हो।
डुक मोटरसाइकल करिब ८ लाख रूपैयाँ मूल्यको हो। बुलेट भने ६ लाख रूपैयाँसम्म पर्छन्।
महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार काठमाडौंमा चोरीका सवारीसाधनको बिगबिगी रहेको सूचना आएपछि प्रहरी खोजीमा लागेको थियो। त्यही सिलसिलामा प्रहरीले सुरूमा प्रदेश २-१८प ९६२ नम्बरको बुलेट मोटरसाइकल पक्राउ गरेको थियो।
त्यो मोटरसाइकल कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ घर भई हाल काठमाडौं-४ चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायतले बेच्न राखेका थिए।
प्रहरीले शिक्षण अस्पतालभित्र पार्किङमा राखेको त्यो बुलेट मोटरसाइकल पक्राउ गरेको थियो। कठायत त्रिवि शिक्षण अस्पतालअगाडि तरकारी पसल गर्थे। उनलाई प्रहरीले बसुन्धरामा पक्राउ गरेको थियो।
‘चोरीको मोटरसाइकल खोज्ने सिलसिलामा उनी पक्राउ परेपछि हामीले सोधपुछ गर्यौं,’ पंगेनीले भने, ‘उनले आफूले कारोबार गर्ने ठाउँ मात्र नभएर अर्का व्यक्ति पनि देखाए।’
पंगेनीका अनुसार तरकारी पसल चोरीका गाडी बेचबिखनका लागि कारोबारको ‘डिल गर्न’ खोलिएको बुझिएको छ। उनी त्यो मोटरसाइकलका ग्राहक खोज्ने सिलसिलामा बसुन्धरा पुगेका थिए।
कठायतले भनेका अर्का व्यक्ति कञ्चनपुर कृष्णपुर नगरपालिका-२ का ३३ वर्षीय कृष्णबहादुर रोकाय थिए।
उनी नेपाली सेनाका जवान हुन्। उनी नगरकोटस्थित सैनिक वार कलेजमा कार्यरत् थिए। उनलाई बानेश्वरबाट प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ गरी सोधपुछ गरेपछि अर्को बुलेट र डुक मोटरसाइकल फेला परेका थिए, एउटा बसुन्धरा र अर्को मूलपानीमा।
‘उनीहरूले कैलालीको गौरीफन्टा नाकाबाट भन्सार छलेर मोटरसाइकल राजधानी ल्याउने गरेको बताएका छन्, यसमा अन्य व्यक्तिहरू पनि रहेको बुझिएको छ,’ पंगेनीले भने।
एसपी पंगेनीका अनुसार भारतबाट मोटरसाइकल चोरीमा ल्याउने कार्यमा जवान रोकायको मुख्य हात छ। उनले ल्याएर कठायतलाई जिम्मा लगाउँथे। उनले यस्ता मोटरसाइकलका नक्कली ब्लुबुकसमेत बनाएर मानिसहरूलाई बेच्ने गर्छन्।
‘यातायात कार्यालयबाट यी मोटरसाइकलको आधिकारिकता खोजिएको थियो,’ पंगेनीले भने, ‘त्यसपछि ब्लुबुक नक्कली भएको पत्ता लाग्यो।’
उनीहरूले त्यही ब्लुबुकका आधारमा फाइनान्सको सुविधासमेत दिलाउने गरेको पंगेनीले बताए। ‘फाइनान्सको पाटो के कसो हो भन्नेबारे हामीले विस्तृत कागजात मगाएका छौं,’ उनले भने।
चोरीका कारको कारोबारमा पनि कठायत र रोकायको संलग्नता देखिएको छ। प्रहरीले उक्त कार मूलपानीबाट बरामद गरेको थियो।
कार कसले प्रयोग गरिरहेको थियो भन्ने खुलिसकेको छ। तर ती व्यक्ति पक्राउ परेका छैनन्।
‘गणेश विकको नाममा बनाइएको नक्कली ब्लुबुक फेला परेको छ, हामी मान्छे खोजिरहेका छौं,’ पंगेनीले भने।
त्यो कार गणेशले पनि अर्कै व्यक्तिलाई दिन १५ लाख बैना लिइसकेका थिए। एक जना सुन पसलेलाई दिनको लागि भनेर गणेश र कठायतले मूलपानीमा गाडी राखेको पाइएको छ।
पंगेनीका अनुसार चोरीका गाडी तथा मोटरसाइकल भन्सार नाकाबाटै ल्याउने गरेको रोकायले बताएका छन्। उनले ‘सेटिङ’मा गाडी र मोटरसाइकल आउने गरेको बताएका छन्।
अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङ प्रहरी सक्रियतामा चोरीका गाडी समातिएका यी केही उदाहरण मात्र रहेको बताउँछन्। यी महंगा गाडी र मोटरसाइकल एक महिनाको अवधिमा समातिएका थिए।
यी केही घटनाबाट चोरीका गाडीको काठमाडौंमा बिगबिगी रहेको बुझिने खापुङ बताउँछन्।