झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित पतंजलि योग समिति नेपालले नियमित योगाभ्याससँगै शनिबार यज्ञ गरेको छ ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आयुर्वेद औषधालयमा हरेक दिन बिहान निरन्तर योग शिविर सञ्चालन हुँदै आएकोमा शनिबार यज्ञ पनि गरिएको हो ।
भाद्र संक्रान्तिको अवसरमा शनिबार योगसँगै यज्ञ पनि गरिएको योग प्रशिक्षक तथा नगर युवा प्रभारी केशवराज पनेरुले जानकारी दिए ।
शिविरमा पतञ्जलि नगर समितिका अध्यक्ष केशवदत्त अवस्थी, नगर सचिव खगेन्द्रप्रसाद पाण्डे, मिडिया प्रभारी जयबहादुर ऐर, नगरपालिकाका अधिकृत मोहनराज फुलारा, समाजसेवी तेजबहादुर शाह लगायतको उपस्थिति थियो ।
यज्ञ कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष अवस्थीले औषधियुक्त यज्ञको वायुले पर्यावरण शुद्ध र मन पवित्र हुने बताए । भौतिक जीवनबाट आहत भएको समाजलाई योग र यज्ञले राहत दिने प्रशिक्षक पनेरुले बताए ।