ओली सरकार पूर्ण रूपले असफल भएको छ :शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ३ वर्षको मूल्यांकन गर्दा पूर्ण रूपले असफल भएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सभापति देउवाले भने, ‘सरकार गठनपछि ३ वर्षको मूल्यांकन गर्दा ओली सरकार पूर्ण रूपले असफल भएको छ ।’

कार्यकारी प्रधानमन्त्रीले अरुमाथि दोष थुपार्न नपाइने देउवाले बताए । ‘आफू कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थुपार्ने ?’ उनले भने, ‘अरुमाथि दोष र गुनासो थुपारेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न पाउनुहुन्छ ?’

सभापति देउवाले आत्ममूल्यांकन गर्न ओलीलाई आग्रह गरे । ‘मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन । एकपटक छातीमा हात राखेर भन्नुस्, आफैंले आफैंलाई सोध्नुस्, यो अवस्था तपाईंले सिर्जना गर्नुभएको दम्भका कारण होइन ?’ देउवाले सोधे ।

यसअघि बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रतिनिधि सभाका सदस्यलाई आग्रह गरे । ओलीले भने, ‘माननीयज्यू, ‘हुन्न’ भन्ने पक्षमा त कसरी सही गर्न सक्नुहुन्छ ? कसरी सक्नुहुन्छ ?’

सरकारले गरेका कामको विवरण सुनाएपछि ओलीले विश्वासको प्रस्तावमा हुन्न भनेर कसरी हस्ताक्षर गर्ने भनेर प्रश्न गरे ।

 

सम्बन्धित
Loading...