मानसखण्डको महान् पर्व ‘गौरा’बारे भर्चुअल महामन्थन

काठमाडौं । सहृदयता समाज नेपालले मानसखण्डको महान् पर्व ‘गौरा’बारे भर्चुअल महामन्थन गरेको छ ।

गौरा पर्वको विविध पक्षमा प्रकाश पार्दै मानसखण्डको महान् पर्व ‘गौरा’ महामन्थन सत्संग सम्पन्न भएको हो ।

सहृदयता समाज नेपालको आयोजना र प्रगतिवादी युवा समाज नेपालको सहआयोजनामा जुम प्रविधिमार्फत शनिबार सत्संग आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले मानसखण्डको महत्त्वबारे परिचर्चा गर्दै गौरा पर्वको मौलिक पक्षको संरक्षण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख वक्ता पण्डित आचार्य लक्ष्मीकान्त जोशीले मानसखण्ड सम्पूर्ण भूखण्डको शिर भाग भएको चर्चा गर्दै सभ्यता र संस्कृतिको मूल थलो भएको बताउनुभयो । गौरा मानसखण्डको मौलिक पर्व भएको बताउँदै उहाँले गौरामा महिलाले व्रत बसेर पुत्र, पति र सम्पत्तिको प्राप्ति गर्ने शास्त्रीय मत रहेको बताउनुभयो ।

गौरी पर्वतीले भक्तिभावका साथ शिवको आराधना गरी शिवलाई पतिका रुपमा पाउनुभएको सम्झनामा गौरा पर्व मनाउन थालिएको जनविश्वास छ ।

गौरा पर्वको ज्योतिषीय पक्षको चर्चा गर्नुहुँदै जोशीले सिंह राशीको २१ औं दिनबाट अगस्त्यको उदय हुने भएको कारण त्यसअघि नै गौरा पर्व मनाउनुपर्ने शास्त्रीय मत रहेको कारण गौरा पर्व भाद्रको कृष्ण पक्ष अथवा शुक्ल पक्षको पञ्चमीदेखि अष्टमीसम्म धुमधामका साथ मनाउने चलन रहेको बताउनुभयो । केही व्यक्तिहरूले गौराको मौलिकता नबुझेर तारिख वा गतेमा गौरा पर्व मनाउनुपर्ने प्रस्ताव गर्नु दुःखद भएको जोशीले बताउनुभयो ।

गौरा पर्वमा स्थानीय रूपमा उत्पादन हुने ५ प्रकारका अनाज भिजाएर तयार पारिएको विरुडा ग्रहण गर्ने प्रचलन छ । जुन ठाउँको प्राणी छ, त्यसलाई सोही स्थानमा उत्पादित अन्न नै औषधि हुने शास्त्रीय मत अनुसार विरुडा ग्रहण गर्ने प्रचलन बसेको पनि जोशीले बताउनुभयो ।

जरोकिलो महाअभियानका संकल्पकर्ता तथा आयोजक संस्थाका संरक्षक युगद्रष्टा डा. निर्मलमणि अधिकारीले मानसखण्डको रूपमा चर्चित स्थान काठमाडौंको नजरमा सुदूर भए पनि सभ्यताको उद्गमभूमि भएको बताउनुभयो । नेपालमा रहेका विविध संस्कृतिको संरक्षण, प्रवद्र्धन र मूलप्रवाहीकरणबाट मात्रै नेपालमा सद्भाव, एकता र सहृदयता स्थापित गरी प्रगति सम्भव भएको डा. अधिकारीले बताउनुभयो ।

संस्कृतिविद् तथा कलाकार यजराज उपाध्यायले गौरा पर्व र देउडा गीत हाल आएर विश्वव्यापीकरण भएको बताउनुभयो । प्रशंसा संरक्षण समूहले २०५५ सालबाट सुदूरपश्चिममा सीमित रहेको गौरा पर्व काठमाडौंमा पनि मनाउन थालिएको जानकारी दिनुहुँदै राजधानीमा रहेका विभिन्न दलका नेताहरूको सहभागितामा गौरा पर्व र देउडा संस्कृतिको प्रवद्र्धन हुनसकेको स्मरण गर्नुभयो ।

गौरा पर्व कर्णाली क्षेत्रदेखि भारतको कुमाउ, गड्वाल र अल्मोडासम्म मनाउने प्रचलन रहेको बताउनुहुँदै संस्कृतिविद् पदमराज जोशीले गौरा मातृशक्ति प्रधान पर्व भएको उजागर गर्नुभयो । संस्कृतिको मौलिक पक्ष बोध नहुँदा कतिपय परम्परा अपहेलित भएको बताउँदै गौरा पर्वमा महिलाहरूले परिवारका अन्य सदस्यलाई आशिर्वाद दिनु यसको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो ।

देशमा संघीयता आइसकेपछि प्रदेश र स्थानीय सरकारले पनि मौलिक भाषा र संस्कृतिको उत्थानको लागि आवश्यक पहल गर्नुपर्ने अनुसन्धाता डा. टीएन जोशीले बताउनुभयो । कतिपय नेपालीहरूलाई देउडा र गौरा एउटै भएको भ्रम रहेको बताउँदै युवा पिँढीमा मौलिकताको चेतना जगाउन भाषा संस्कृतिका कुरा पाठ्यक्रममा समावेश गराउने पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कलाकारहरू यजराज उपाध्याय, सावित्री साहु र चाँदनी मल्लले मानसखण्डमा प्रचलनमा रहेको देउडा गीतका साथै फाग, मांगल, हुडक्यौली, धमारी, झोडा लगायतका गायनका विविध आयमबारे प्रकाश पार्दै सांगीतिक प्रस्तुति पनि दिनुभएको थियो ।

सहृदयता समाज नेपालका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सत्संगमा धिरेन्द्र चन्द सोडारी, पंकज चन्द र खिमानन्द जोशीले पनि गौरा पर्वको विविध आयामबारे चर्चा गर्नुभएको थियो ।

सम्बन्धित
Loading...