त्रिपुरासुन्दरी क्षेत्रमा भदौ २१ गते गौरा हुने, प्रदेश सरकारको बिदा भदौ ७ गते
बैतडी । सुदूरपश्चिम प्रदेशमा धुमधामका साथ मनाइने गौरा पर्वको तिथिबारे विवाद कायमै रहेको छ ।
सरकारी निकायले भदौ ७ गते गौरालाई मान्यता दिए पनि विभिन्न क्षेत्रमा स्थानीय स्तरबाट भदौ २१ गते गौरा मनाउने घोषणा हुन थालेको छ ।
बैतडीको त्रिपुरासुन्दरी क्षेत्रमा भदौ २१ गते गौरा पर्व मनाउने निर्णय गरिएको छ ।
त्रिपुरासुन्दरी भगवतीका पूजारी गोविन्दप्रसाद लेखक, पूजारी हेमराज लेखक, पूर्व पूजारी विष्णुदत्त लेखक, मन्दिरका मुखिया, भण्डारे लगायतको उपस्थितिमा भएको बैठकले भदौ २१ गते गौरा मनाउने निर्णय गरेको छ ।
त्रिपुरासुन्दरी भगवती मन्दिरको क्षेत्रभित्र भदौ १८ गते बिरुडा पञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते गौराष्टमी अर्थात अठ्यावली मनाइने छ ।
गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारणा गर्ने परम्परा नरहेकाले भदौ २१ गते गौराका लागि उपयुक्त तिथि भएको तर्क गरिएको छ ।
गौरापर्व भाद्र शुक्ल वा भाद्र कृष्ण पक्षमा मात्रै पर्ने भएकाले अन्य तिथिमा गौरा पर्व हुनै नसक्ने आचार्य घनश्याम लेखकको दाबी छ । सुदूरपश्चिममा अगस्ती उदय भदौ २३ गतेपछि मात्रै हुने भएकाले भदौ २१ गतेको गौरामा अगस्ती उदयको दोष नलाग्ने आचार्यले लेखकले जानकारी दिए ।
नेपाल पञ्चांग निर्णायक समितिले भदौ ७ गतेका लागि गौराको तिथि तय गरेको छ । सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिएको छ ।