११ कक्षाबाट संकाय हट्यो, शिक्षकमा अन्योल
काठमाडौं । अब विद्यालयले ११ कक्षामा विद्यार्थी भर्ना गराउँदा संकायका आधारमा भर्ना लिन नपाइने भएको छ ।
विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन संकायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो संकाय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिनुुभयो । उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिनुभयो ।
यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर संकायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक ११ कक्षामा ३ वटा अनिवार्य विषय र ३ वटा समूहबाट १/१ विषय ऐच्छिक गरी ६ वटा विषय अध्यापन गराइन्छ । विद्यार्थीले चाहेमा सातौं विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । ११ कक्षा पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया ९ र १० कक्षाको जस्तै गरी लिइने भएको हो ।
एकलपथीय प्रणालीमा संकाय छुट्याएर अब भर्ना हुुँदैन र पठनपाठन पनि हुँदैन । साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि संकायका आधारमा नदिइने भएको छ । कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब १२ कक्षाको भर्ना पनि यसैगरी हुनेछ ।
यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा ११ र १२ कक्षामा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा संकायका आधारमा गर्ने गरिएको थियो ।
राजधानीको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बुझाएर मात्रै यस खालको नीतिगत निर्णय गर्नुपर्नेमा त्यसमा हतार गरिएको बताउनुभयो । यसबाट आफूहरू पनि अन्योलमा परेको उहाँ बताउनुहुन्छ ।
संकाय नमाने पनि विद्यालयले आन्तरिक रूपमा त्यसको अभ्यास गर्ने उहाँको भनाइ छ । विद्यार्थीलाई निश्चित समूहमा विभाजन गराएर नपढाएको अवस्थामा उच्च शिक्षामा विद्यार्थीको शैक्षिक यात्रा अन्योलमा पर्ने उहाँले बताउनुभयो । बेलायतस्थित क्याम्ब्रिज प्रणालीको ‘ए’ लेभलमा भने यस खालको अभ्यास लामो समयदेखि गरिँदै आएको छ । नेपालमा पनि त्यस अनुसारको पठनपाठन हुुँदै आएको छ तर ११ कक्षाको हकमा यो नौलो भएको जनाइएको छ ।
शिक्षकको व्यवस्थापन गर्न विद्यालयलाई समस्या हुने भएकाले निश्चित समूहमा विद्यार्थीलाई विभाजन गराएर अध्यापन गराउन विद्यालय बाध्य हुने उहाँको भनाइ छ ।
(गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेख्नुभएको छ ।)