गाडी बन्द छन् तर शिक्षामन्त्री भन्छन् – जसरी पनि साउनभित्रै स्कूल पुगिसक्नू !

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि भन्दै सरकारले नै लामो दूरीको सार्वजनिक यातायात बन्द गराएको छ ।

सरकारले लामो दूरीका सवारीसाधन बन्द गरेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने शिक्षकहरूलाई जसरी पनि साउनभित्रै विद्यालयमा हाजिर हुन निर्देशन दिनुभएको छ ।

यसअघि नै मन्त्रालयले दिएको निर्देशनलाई प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा दोहोर्‍याउँदै मन्त्री पोखरेलले सामुदायिक स्कूलका शिक्षकलाई साउन महिनाभित्र स्कूल पुग्न दिएको निर्देशनमा सरकारले कुनै पनि किसिमको छुट दिन नसक्ने बताउनुभयो ।

विद्यालयको पठनपाठन कहिलेदेखि हुने निश्चित नहुँदै शिक्षकलाई बोलाइएकोमा विरोध भइरहेका बेला मन्त्री पोखरेलले पुरानै अडान दोहोर्‍याउनुभयो । ‘शिक्षकले यो वा अर्को नाममा स्कूलसँग नगाँसिने कुरा हुन सक्दैन,’ उहाँले भन्नुभयो । कोरोना महामारीसँगै विद्यालय बन्द भएपछि घर गएका शिक्षकहरू सवारीसाधन विना कार्यक्षेत्रमा कसरी फर्किने भन्ने विषयमा मन्त्री पोखरेलले कुनै उपाय सुझाउनुभएन ।

बैठकमा मन्त्री पोखरेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ‘संक्रमणको जोखिम बढ्दै गएकाले प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठनपाठन गर्ने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाइ र बुझाइका मान्यताहरूलाई विकास गर्नुपर्ने आवश्यकता रहेको छ । बन्दाबन्दीका समयमा विभिन्न वैकल्पिक माध्यमबाट गरिएको सिकाइ शैक्षिक सत्रसँग जोडिने र शैक्षिक सत्रको गणना हुनेछ । सोही अनुसार वैकल्पिक सिकाइलाई स्थानीय सरकारले जोड दिनुपर्छ ।’

शिक्षालयलाई कोरोना संक्रमण हुने केन्द्रको रूपमा अगाडि बढ्न नदिनेतर्फ सरकार सचेत रहेको उहाँले बताउनुभयो । ‘शिक्षालयहरूलाई संक्रमण हुने केन्द्रको रूपमा अगाडि बढ्न नदिनका लागि हामीले गम्भीरतापूर्वक लिनुपर्छ । यो राज्यले सिर्जना गरेको विभेद होइन । परिस्थितिले ल्याएको हो । स्कूलहरूको पुनः सञ्चालनको कार्य ढाँचा निर्माणको अन्तिम चरणमा छौं । कोरोनाको महाविपत्तिले समग्र अर्थतन्त्रमा पारेको प्रभावलाई पनि हेर्नुपर्‍यो । शिक्षा एक्लैलाई मात्रै हेर्ने कुरा छैन ।’

सम्बन्धित
Loading...