कोरोना नियन्त्रण अनिश्चित तर शैक्षिक सत्र खेर जान नदिने रटान
काठमाडौं । विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ ।
शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने विश्लेषणपछि सरकार शैक्षिक सत्र सदुपयोग गर्ने तयारीमा जुटेको हो ।
यसका लागि १० कक्षासम्मकै विद्यार्थीले अध्ययन गर्ने सबै विषयको पाठ्यक्रमको भार घटाएर शैक्षिक सत्र खेर जान नदिने अभियानमा आफूहरू जुटेको जानकारी सरकारी अधिकारीले दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले पाठ्यभार घटाउने तथा यसैलाई नयाँ शैक्षिक क्यालेन्डरमा समेत मिलाएर अहिलेको शैक्षिक सत्र खेर जान नदिने गरी तयारी सुरू गरेको जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमण कहिले अन्त्य हुन्छ भन्ने कुरा यकिनका साथ कसैले पनि भन्न नसकेको अवस्थामा विद्यार्थीको सिकाइ निरन्तर गर्न पनि शैक्षिक सत्रको सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ । विद्यार्थीले अध्ययन गर्ने एउटै कक्षाका कतिपय विषयवस्तु एकअर्को विषयसित मिल्ने भएकाले त्यसलाई मिलाएर अगाडि बढ्न सकिने र केही पाठ्यक्रम संकुचन गर्नुपर्ने अवस्था आउने उहाँले जानकारी दिनुभयो ।
अहिलेको अवस्थामा कहिलेबाट शैक्षिक सत्र प्रारम्भ गर्न सकिन्छ भन्ने कुरा संक्रमणका कारण भन्न नसकिएकाले अन्योल जस्तो देखिएको छ । ढिला गरी शैक्षिक सत्र सुरू गरिएको अवस्थामा अर्को शैक्षिक सत्रको १/२ महिना मिलाउनुपर्ने अवस्था आउने भएकाले चाँडै शैक्षिक सत्र सुुरू गर्नुुपर्ने प्रवक्ता शर्माको भनाइ छ । यो समस्याका कारण विश्वका कतिपय मुलुकका विद्यालय शिक्षा ठप्प भएको उदाहरण दिँदै नेपालमा भने शैक्षिक सत्र खेर जान नदिने हिसाबले प्रयास थालिएको बताउनुभयो ।
यसै हप्ता मात्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यभार घटाउने र त्यसको तयारी गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
सरकारको यो प्रयासलाई शिक्षाका सरोकारवालाले सकारात्मक रूपमा लिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) का महासचिव सुवास न्यौपानेले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । निजी विद्यालयले सम्भव भएसम्म अनलाइन शिक्षा प्रभावकारी बनाउन प्रयास गरेको तथा सामुदायिक विद्यालयले पनि रेडियो, टेलिभिजन लगायतको माध्यमबाट पठनपाठन अगाडि बढाएका कारण विद्यार्थीको सिकाइ उपलब्धि खेर जान दिन नहुनेमा उहाँको जोड छ ।
पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले हाल बनाइएको पाठ्यक्रम तथा प्रकाशित पाठ्यपुस्तकको मुख्य पक्ष यथावत् राखेर बाँकी भार कम गरेर अगाडि बढ्न सकिने बताउनुभयो । एक विषयमा ८० घण्टाको हाराहारी पठनपाठन गराएर पनि विद्यार्थीको सिकाइ उपलब्धिमूलक बनाउन सकिने उहाँको भनाइ छ ।
पाठ्यपुस्तकमा रहेका महत्त्वपूर्ण भाग पढाएर कम महत्त्वका विषय छाड्ने गरी अगाडि बढ्नसके छोटो समयमा पढाएर पनि विद्यार्थीलाई जान्नैपर्ने कुरा सिकाउन सकिने उहाँको भनाइ छ ।
यसै हप्ता मात्रै त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको थियो ।
(गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेख्नुभएको छ ।)