देउवालाई पुनः सभापति बन्न छैन सहज, विमलेन्द्र निधिले दिए धक्का

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा आसन्न १४ औं महाधिवेशनबाट फेरि सभापति पदमा दोहोरिन चाहन्छन् । उनले सार्वजनिक रुपमा सभापतिमा दोहोरिने घोषणा नगरेपनि आफूनिकट नेताहरूलाई यसबारे प्रस्ट जानकारी गराइसकेका छन् ।

महाधिवेशनलाई नै लक्षित गरेर देउवाले धमाधम विभाग गठन गर्नुका साथै सदस्य मनोनयनलाई तीब्रता दिनु त्यसैको संकेत हो ।

तर सभापतिमा दोहोरिने देउवाको चाहना भएपनि अघिल्लो पटक जस्तो सहज भने नरहेको कांग्रेस नेताहरु बताउँछन् । १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन उनको समूह एक ढिक्का थियो भने महाधिवेशनको मुखमा तत्कालीन संस्थापन समूह विभाजित बन्न पुग्यो । यतिबेला संस्थापन इतर समूहमा सभापतिका आकांक्षी धेरै भएपनि सबैको एउटै मत छ, ‘सभापतिमा देउवालाई जसरी पनि रोक्ने ।’

महाधिवेशन नजिकिएसँगै संस्थापन समूहभित्रबाटै उपसभापति विमलेन्द्र निधिले पनि सभापति पदका लागि दौडधुप व्यापक बनाएपछि देउवा थप दबाबमा परेका छन् । ‘उहाँ (निधि) चर्चामा आउन हल्काफुल्का रुपमा कुरा गर्ने नेता होइनन्,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘उहाँको कुरा सभापतिज्यूले गम्भीर रुपमा सुन्नुपर्छ र त्यसको समयमै निकास दिनुपर्छ ।’

उपसभापति निधिकै पुस्ताका नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला लगायतले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

विद्यार्थी राजनीति हुँदै नेविसंघको अध्यक्ष, पार्टी केन्द्रीय सदस्य, महामन्त्री र अहिले उपसभापतिको जिम्मेवारीमा रहेका निधिको सभापति पदमा दाबेदारी स्वभाविक भएको संस्थापन समूहकै नेताहरू बताउँछन् ।

उपसभापति निधिले सभापति देउवालाई भेटेरै सभापति पदमा उठ्ने जानकारी गराइसकेका छन् । साथै उनले देउवाको सहयोग समेत मागेका छन् । ‘मैले सभापतिका लागि तयारी सुरू गरिसके, तपाईंको सहयोगमा म सभापति पदमा उठ्छु,’ बिहीबार दिउँसो दुई नेताबीच एक्लाएक्लै वार्तामा निधिले भने, ‘अघिल्लो महाधिवेशनमा अर्काे पटक मलाई सहयोग गर्ने वचन दिनुभएकै हो । त्यो सम्झनुस् । म अगाडि बढिसकें ।’

दुई नेताबीच करीब २ घण्टा भएको एक्लाएक्लै वार्तामा देउवाले यसपटक आफूलाई सहयोग गर्न र १५ औं महाधिवेशनमा सहयोग गर्ने भनेपनि निधिले अस्वीकार गरेको बूढानीलकण्ठ स्रोतले जनाएको छ ।

‘सभापतिज्यूले यसपटक म आफैं उठ्छु । अर्काेपटक तपाईं नै हो नि भन्नुभयो,’ स्रोतले भन्यो, ‘तर निधिले मान्नुभएन । बरु सभापतिज्यूलाई नै अब नदोहोरिन कन्भिन्स गर्न खोज्नुभयो ।’ निधिले कुनै पनि हालतमा आफू सभापतिमा उठ्ने र कांग्रेसलाई एक ढिक्का बनाउन सर्वसम्मत नेतृत्वका पक्षमा आफू रहेको सुनाएपछि देउवा झस्किएका छन् ।

‘उपसभापति विमलेन्द्र निधि हाम्रो समूहको सेकेण्ड म्यान हो । उहाँले सभापति पदमा लड्छु भन्नुभएको हो तर देउवासँगै प्रतिस्पर्धा गर्छु भन्नुभएको छैन,’ केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले भने, ‘यही टीमबाट मलाई सहयोग गर्नुपर्‍यो । तपाईको सहयोगमा म चुनाव लड्छु भन्ने उहाँको भनाइ हो ।’

निधि अन्तिमसम्म देउवालाई दबाब दिँदै जाने रणनीतिमा छन् । यसबीचमा उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह लगायतसँग आफ्नो उम्मेदवारीबारे छलफल गरेका छन् ।

‘सहमतिमा नेतृत्व चयन गरौं र कांग्रेसभित्र गुटको अन्त्य गरौं भन्ने पक्षमा छु । रामचन्द्रजी, प्रकाशमान, शशांकजीसँग छुट्टाछुट्टै कुराकानी भइरहेको छ,’ उनले भने, ‘पार्टीका नेताहरुसँग पार्टी, महाधिवेशन, समसामयिक राजनीतिका बारेमा छलफल हुने कुरा त स्वाभाविक होइन र ?’

(अन्नपूर्ण पोस्ट दैनिकमा खगेन्द्र भण्डारीले लेख्नुभएको छ ।)

सम्बन्धित
Loading...