कैलाली एमालेको अध्यक्षमा यज्ञ ढुंगाना विजयी, कसको कति मत ?

धनगढी । नेकपा एमाले जिल्ला कमिटी कैलालीको अध्यक्ष पदमा यज्ञराज ढुंगाना विजयी भएका छन् ।

शुक्रबार भएको मतदानबाट सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सचिवालय सदस्य ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै निर्वाचित भएका छन् । पाण्डे जिल्ला कमिटी सचिव थिए ।

निर्वाचित ढुंगानाले २८७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पाण्डेले २१८ मत पाएका छन् ।

अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । जोशी कार्यबाहक अध्यक्ष थिए । अध्यक्षमा ३ जनाले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।

उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही ५ मतले विजयी भएका छन् । उनले १९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले १८८ मत पाएका छन् ।

उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले १०६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत पाएका छन् ।

सचिव पदमा पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी २४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत मात्रै पाएका छन् ।

सचिव पदकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरेका छन् । उपसचिव खुलामा ढुंगाना प्यानलका चुडामणि भट्ट विजयी भएका छन् ।

भट्टले २५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत पाएका छन् । अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

उपसचिव महिलामा गंगाकुमारी चौधरी १९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।

फागुन ६ गते सुरु भएको एमाले कैलालीको नवौं जिल्ला अधिवेशनमा छैटौं दिन शुक्रबार मतदान भएको थियो । अधिवेशनमा ५९१ प्रतिनिधि रहेकोमा ५७७ मत खसेको थियो ।

जिल्ला कमिटीका पदाधिकारीको मतगणना सकिएकाले अब सदस्यको मतगणना हुने निर्वाचन कमिटीले जनाएको छ ।

सम्बन्धित
Loading...