धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा ‘पातल’ले सहकारी संस्थाहरूको अनुगमन र निरीक्षण सम्बन्धी निर्देशिका बनाउने निर्णय गरेका छन् ।
देशव्यापी रूपमा सहकारी संस्थामा समस्या देखिइरहेको चर्चाबीच मन्त्री बनेका उनले सुदूरपश्चिमका सहकारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशिका बनाउने निर्णय गरेका हुन् ।
सोमबार पदभार ग्रहण गरेलगत्तै गरेको पहिलो निर्णयमा उनले सहकारी संघसंस्थाको अनुगमन तथा निरीक्षण सम्बन्धी निर्देशिका तर्जुमा प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा) मिलेर सुदूरपश्चिम प्रदेशमा बनेको नयाँ सरकारमा उनी सोमबारै मन्त्री बनेका हुन् । यसअघि नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रसँगको सरकारमा उनी केही दिन वनमन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै छोटो समयमै राजीनामा दिएका उनले पुनः मन्त्री बन्ने मौका पाएका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाका निवासी मन्त्री थापा पछिल्लो चुनावमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।