भारतबाट तस्करी गर्दा लफडा परेपछि चाँदनीको पशुपति स्कूलका अध्यक्षसहित २ जना पक्राउ

महेन्द्रनगर । निकटवर्ती भारतीय बजारबाट ल्याएको सामान कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको १ नम्बर वडामा ल्याउन खोज्दा सशस्त्र प्रहरी बलको गस्ती टोलीसँग लफडा परेपछि २ जना पक्राउ परेका छन् ।

दोधाराचाँदनी नगरपालिका–१ स्थित पशुपति आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रहेका रघुवीर भट्ट र स्थानीय नविन भट्ट पक्राउ परेका हुन् ।

सीमा क्षेत्रमा गस्तीमा रहेका सशस्त्रका प्रहरी निरीक्षक (इन्सपेक्टर) रोशनसिंह ठकुरीमाथि हातपात र अभद्र व्यवहार गरेपछि भट्टद्वयलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक (इन्सपेक्टर) होमप्रकाश चौधरीले जानकारी दिए ।

भारतबाट तस्करीका सामान ल्याएको अवस्थामा सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा दुवैले हातपात गरेको आरोप छ । शनिबार अपराह्न घटना भएलगत्तै प्रहरीले दुवैलाई नियन्त्रणमा राखेको छ ।

दुवै आरोपीविरुद्ध अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइने इन्सपेक्टर चौधरीले जानकारी दिए । पक्राउ परेका अध्यक्ष भट्ट भारतबाट सामान तस्करीमा संलग्न रहँदै आएको आरोप छ ।

सम्बन्धित
Loading...