प्रचण्डलाई केपी ओलीले ‘अध्यक्ष र प्रधानमन्त्री दुवै हुन्न’ भनेपछि … 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद टुंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार महाधिवेशन केन्द्रित संवाद भएको छ ।

९ दिनपछि साढे ३ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहाललाई अहिले पार्टीभित्रको विवाद टुंग्याउन र महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रस्ताव गरेका छन् । ओलीको प्रस्तावपछि महाधिवेशन केन्द्रित संवाद भएको हो ।

वार्ताको प्रारम्भमै ओलीले दाहाललाई भनेका थिए, ‘महाधिवेशन गरौं र महाधिवेशनपछि तपाईं एकल अध्यक्ष बन्नुस्, म अध्यक्ष र प्रधानमन्त्री दुवै हुन्न भनेकै छु, अरू साथीहरूलाई पनि मिलाएर लैजानुस् भनेकै छु ।’ वार्तापछि दाहाललाई उद्धृत गर्दै उनीनिकट स्थायी कमिटीका एक सदस्यले भने, ‘ओली पक्षले महाधिवेशनमा दाहाललाई अध्यक्ष बनाउन सहयोग गर्ने प्रस्ताव यसअघि नै राखेको थियो तर बिहीबारको छलफलमा त्यस्तै त होइन तर महाधिवेशनबाट एकल अध्यक्ष बन्नुस् भन्ने प्रस्ताव उहाँ (ओली) बाट आएको छ ।’

ओलीले यस्तो प्रस्ताव राखेपछि दाहालले महाधिवेशनका विषयमा पनि छलफल गर्ने र स्थायी कमिटीको बैठकलाई निरन्तरता दिएर अन्य मुद्दामा पनि छलफल गर्नुपर्ने बताएका थिए । दुवै नेताबीचको वार्ता स्थायी कमिटीको बैठक बोलाएर टुंग्याउने सहमतिसहित टुंगिएको ती सदस्यले बताए । ओलीले भने स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बोलाउनुपर्ने प्रस्ताव राखेका थिए ।

उनले सचिवालय बैठकले गर्ने निर्णयअनुसार पार्टी र सरकार चल्ने तथा सरकारले कुनै निर्णय गर्दा पहिला सचिवालयमा छलफल गराउने बताएका थिए । जवाफमा दाहालले भनेका थिए, ‘सचिवालयमा पनि छलफल गरौंला । पहिला स्थायी कमिटी बैठकलाई निरन्तरता दिनुपर्छ । यसैबाट विवादको निरूपण गर्नुपर्छ ।’

९ दिनपछि भएको संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको जानकारी दिँदै स्रोतले महाधिवेशन चाँडो गर्ने र त्यसका लागि सबै तहमा एक चरण छलफलअघि बढाउने सहमति भएको बतायो । ‘महाधिवेशन चाँडो गरौं भन्नेमा दुवै अध्यक्ष सहमत हुनुभएको छ तर कहिले भन्नेबारे स्थायी कमिटी बैठकबाट टुंगो लगाउनुपर्ने कुरा आएकाले बैठक डाक्ने सहमति बनेको छ,’ स्रोतले भन्यो । महाधिवेशनसँगै पार्टीभित्रको संरचना हेरफेर, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरूको हेरफेरजस्ता विषयमा पनि छलफल भएको छ । छलफलबाटै विवाद समाधान गर्ने सहमति भएको छ ।

अध्यक्षद्वयबीचको संवाद अवधिभर महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा पनि बालुवाटारमै थिए । संवाद भइरहेकै बेला महासचिव पौडेलले सहमतिका केही आधार भन्दै नेतासमक्ष प्रस्ताव पुर्‍याएका थिए । ‘महासचिवले सहमतिको प्रस्ताव भन्दै सानो चिट लैजानुभएको थियो, त्यसबारेमा कुरा हुन सकेन,’ स्रोतले भन्यो ।

पार्टीभित्रको विवाद टुंग्याउन दोस्रो तहका नेता महासचिव पौडेलसहित स्थायी कमिटी सदस्यद्वय पोखरेल र शर्मा, नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, देवेन्द्र पौडेल, विष्णु रिमाल लगायतबीच छलफल भइरहेको थियो । उनीहरूकै पहलमा २ अध्यक्षबीच बिहीवार वार्ता भएको हो ।

सहमतिको खाका पनि दोस्रो तहका नेताहरूले तयार पारेका छन् । सोही खाकाअनुसार २ अध्यक्षबीच सहमति हुन सक्ने स्रोतको दाबी छ । दोस्रो तहका नेताहरूले पहिलो पुस्ताका नेताहरूको अवस्था र पदीय मर्यादा विधि निर्माण गरेर तय गर्न सुझाएका छन् । असार १० बाट सुरू भएको स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपाभित्रको आन्तरिक विवाद चर्केको हो । विवाद उत्कर्षमा पुगेपछि स्थायी कमिटी बैठक रोकेर साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच संवाद भए पनि खासै प्रगति हुन सकेन ।

अध्यक्ष दाहालले स्थगित स्थायी कमिटी बैठक बोलाउनुपर्ने र केन्द्रीय कमिटीका सदस्यहरूले केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग राखेपछि ओलीले संवाद नै बन्द गरेका थिए । ओलीले दुवै पद नछाड्ने अडान राखेपछि दाहालले एक पद भए पनि छाड्न दबाब दिइरहेका थिए । पछिल्लो संवादपछि अहिलेसम्म ओलीले एक पद छाडे कुरा मिल्छ भन्ने अडानबाट दाहाल पछि हटेका हुन् कि भन्ने आशंका बढेको छ ।

‘बिहीबारको संवाद महाधिवेशन कसरी गर्ने, स्थायी कमिटी बैठकलाई निरन्तरता दिने विषयमै केन्द्रित भएपछि दाहालले पद छाड्ने कुरै उठाएनन्,’ बालुवाटारनिकट स्रोतले भन्यो ।

ओली–दाहाल संवाद सकिएपछि बिहीबारै दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे सहितको छुट्टै बैठक बसेको थियो । बैठकमा ओलीले दाहालसमक्ष राखेको प्रस्तावलगायत विषयमा छलफल भएको स्रोतले जानकारी दियो । बैठकमा शुक्रबार दुई अध्यक्षबीच हुने संवादमा राख्ने प्रस्तावबारे पनि छलफल भएको स्रोतको दाबी छ ।

यसअघि दाहाल, खनाल, नेपाल र श्रेष्ठले थापागाउँमा प्रदेश ५ स्तरीय केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । चार नेताहरूले पार्टीभित्र उठेको सवाल र अब हुने अवस्थाबारे केन्द्रीय सदस्यहरूलाई बताएका थिए । नेताहरूले गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पनि छलफल गरेका थिए । गण्डकी प्रदेशको भेलामा स्थायी कमिटी सदस्य देव गुरुङले पार्टीमा वैचारिक बहसको आवश्यकता रहेको भन्दै १० बुँदे प्रस्ताव राखेका थिए ।

(नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेख्नुभएको छ ।)

सम्बन्धित
Loading...