डीआईजी केसीले गरे जिप्रका डडेल्धुराको निरीक्षण

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षण भ्रमणका क्रममा उनले कार्यालय भवन, सम्पुर्ण शाखाहरू, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहत कार्यरत विभिन्न प्रहरी युनिटहरूका इन्चार्जहरूलाई आवश्यक निर्देशन समेत दिए ।

निर्देशन सम्बोधनका क्रममा उनले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको प्रभावमा नपरी काम गर्न, गैरव्यावसायिक क्रियाकलापमा संलग्न नहुन, कुनै प्रहरी कर्मचारी संलग्न भएको पाइएमा क्षमा नहुने बताए ।

फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान तथा फरार अपराधी पक्राउ कार्यलाई विशेष प्राथमिकता साथ प्रभावकारी ढंगले अघि बढाउन, सीमावर्ती अपराध र तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाएर उपलब्धिमूलक ढंगले कार्य गर्न, अवैध काठ बरामद, नियम विपरीत नदीजन्य पदार्थको उत्खनन्, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने कार्यलाई तीब्रता दिन उनले निर्देशन दिए ।

उनले गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन पनि निर्देशन दिए ।

उनले लागूऔषध नियन्त्रण कार्यलाई महाअभियानको रूपमा सञ्चालन गर्न, प्रहरी आचरण विपरीतका कार्य नगर्न, नेपाल प्रहरीको मिडिया नीति विपरीत हुने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न, नागरिकको मानव अधिकार सम्मान गर्न र नागरिक मैत्री व्यवहार गर्न निर्देशन दिए ।

हिरासतमा रहेका थुनुवा ओसारपसारमा तथा अन्य कानूनी प्रक्रियामा समेत भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

निर्देशनकै क्रममा उनले गैरव्यावसायिक आर्थिक लाभका लागि कसैसँग साँठगाँठ र मिलोमतो नगर्न, कुनै प्रहरी कर्मचारीले गरेको पाइएमा कानूनी दायरामा ल्याइन र व्यक्तिगत पीरमर्का तथा गुनासाहरू निर्धारीत मापदण्ड अनुरूप अघि बढाउन उनले निर्देशन दिए ।

समन्वयात्मक, सहभागितामूलक र जनमुखी प्रहरी सेवामा समर्पित रही उच्च अनुशासनका साथ कार्य गर्न उनले निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालयको निरीक्षणपश्चात जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी भई उनले जिल्लाको समग्र वस्तुस्थिति एवं सुरक्षाकर्मीको परिचालनबारे समेत जानकारी लिएर जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई शान्ति, सुरक्षा र अमनचैन कायम गर्नेबारे आवश्यक निर्देशन दिए ।

सम्बन्धित
Loading...