धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले चालू वर्ष अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ ।
गत वर्ष १८९ जनालाई सहायता सामग्री वितरण गरेको उपमहानगरले चालू वर्ष २९० जनालाई सामग्री वितरण गर्ने भएको हो ।
नगर क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिको खोजी गर्न ५ ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरिएको छ । उपमहानगरको वडा नम्बर १८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र फूलबारीमा चैत २१ गते लागेको शिविरमा ६० जनालाई नापजाँच गर्दा ५५ जनालाई अपाङ्गता सामग्री आवश्यक रहेको उपमहानगरले जनाएको छ ।
चैत २९ गते वडा नम्बर १७ को शहरी स्वास्थ्य केन्द्र धुर्जन्नामा लागेको शिविरमा ७० जना, वैशाख ९ गते वडा नम्बर १० को घुइयाँघाट शहरी स्वास्थ्य केन्द्रमा लागेको शिविरमा ४५ जना अपाङ्गता भएका व्यक्ति फेला परेका हुन् । वडा नम्बर ११ को घोड्सुवा शहरी स्वास्थ्य केन्द्रमा वैशाख १० गते लागेको शिविरमा ३५ तथा वैशाख १२ गते नगरपालिका परिसरमा लागेको शिविरबाट ८५ जना अपाङ्गता भएका व्यक्ति पत्ता लागेका छन् ।
स्क्रिनिङ शिविरमा पत्ता लागेका अपाङ्गता भएका व्यक्तिहरूलाई असार १५ गतेभित्र सहायता सामग्री वितरण गरिसक्ने महिला विकास अधिकृत पंकजा जोशीले बताइन् । उनले अपाङ्गता भएका व्यक्ति शिविर लागेको ठाउँमा आउन समस्या हुने ठानेर धनगढीको विभिन्न ५ ठाउँमा शिविर लगाउने गरेको बताइन् ।
गत वर्ष पनि धनगढीका १७९ जना अपाङ्गता भएका व्यक्तिलाई २०५ किसिमका सहायता सामग्री निःशुल्क वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन् । ‘गत वर्ष १७९ जनालाई २०५ किसिमका सहायता सामग्री वितरण गरिएको थियो । सहायता सामग्री वितरण गर्न ३२ लाख खर्च भएको थियो । यो वर्ष पनि सहायता सामग्री वितरण गर्न विभिन्न ५ ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर नापजाँच गरिएको हो,’ महिला विकास अधिकृत जोशीले भनिन् ।
चालू वर्ष स्वीकृत वार्षिक कार्यक्रममा १८ लाख बजेट विनियोजन गरिएकोमा धनगढीको सर्वाङ्गिण अपाङ्गता विकास समाजले अपाङ्गता सहायता सामग्री वितरण गर्न ९ लाखमा टेण्डर पाएको छ । चालू वर्ष शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, बैसाखीसहित चस्मा तथा कान नसुन्ने व्यक्तिलाई समेत सहायता सामग्री प्रदान गरिने भएको छ ।
बजेट अपुग भएको अवस्थामा स्क्रिनिङ्ग गरिएका सम्पूर्ण व्यक्तिलाई सहायता सामग्री दिन समस्या नहुने उपमहानगरले जनाएको छ । सबै किसिमका अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण गर्ने उपमहानगरपालिकाको नीति रहेको महिला विकास अधिकृत जोशीले बताइन् ।