धनगढी । प्रहरीले कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–८ बुद्धचोकस्थित जनआवाज नजिकबाट २ ग्राम ५७० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित प्रहरीले कैलारी गाउँपालिका–८ बस्ने २४ वर्षीय सन्जु चौधरीसहित ३ जनालाई सोमबार साँझ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरू बस्ने कोठाबाट चामलको बोराभित्र लुकाइछिपाई राखेको अवस्थामा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० आमखैया जंगलस्थित १०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित गौरीगंगा नगरपालिका–९ शंकरपुर बस्ने २८ वर्षीय अनिलबहादुर भुललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी सुखड कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूपदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।
लागूपदार्थ सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।