परीक्षा अनिश्चित, माथिल्लो कक्षामा चढाउने निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ ।

विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट पठनपाठन अगाडि बढाउने निर्णय गर्दै विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टरकोे पठनपाठन गराउने निर्णय लिएको हो ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्ले कोरोनाका कारण यसअघि रोकिएका परीक्षा तत्काल हुन नसक्ने अवस्था देखिएपछि यस खालको बाटो खोलेको हो । त्रिवि प्राज्ञिक परिषद्का सदस्य तथा व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराम शर्माले सेमेस्टरमा अध्ययनरत सबै संकाय र अध्ययन संस्थानका विद्यार्थीको पठनपाठन नरोकिने र शैक्षिक सत्रसमेत खेर नजाने जानकारी दिनुभयो ।

यसबाट मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन संकाय तथा चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान, कृषि, वन अध्ययन संस्थानका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा यो निर्णय लागू हुनेछ । यसबाट विश्वविद्यालयमा अध्ययनरत लाखौं विद्यार्थीको माथिल्लो कक्षामा अध्ययन गर्ने बाटो खुलेको छ ।

कोरोना भाइरसका कारण स्थगित परीक्षा तत्काल लिन नसकिने अवस्था देखिएपछि विकल्पका रूपमा केही समयपछि परीक्षा गर्ने गरी पठनपाठनको बाटो खोलिएको जानकारी डीन कार्यालयले दिएको छ । उपत्यका बाहिरका धेरै क्याम्पस पनि सेमेस्टर प्रणालीमा गएका कारण यसबाट धेरै विद्यार्थी लाभान्वित हुने र विश्वविद्यालयको शैक्षिक कार्यक्रमले पनि निरन्तरता पाउने जनाइएको छ । यसको जानकारी सम्बद्ध क्याम्पसलाई दिइएको र अब छिट्टै नै कक्षा सुरू हुने जनाइएको छ ।

यसअघि विश्वविद्यालयले कोरोना भाइरसको अवस्था सामान्य हुन सकेको अवस्थामा भदौ पहिलो साताबाट परीक्षा सुरू गर्ने र स्थगित परीक्षा दशैंअघि गर्ने निर्णय गरेको थियो । त्यसपछि नियमित परीक्षा सञ्चालन गर्ने योजना विश्वविद्यालयले बनाएको थियो तर त्यो निर्णय कार्यान्वयन हुन नसकेपछि विश्वविद्यालयले नयाँ बाटो खोलेको हो ।

यसका साथै विश्वविद्यालयले हाल सञ्चालनमा ल्याएको अनलाइन कक्षाले समेत औपचारिक मान्यता पाउने भएको छ । अब अनलाइन कक्षालाई प्रभावकारी बनाइने डीन शर्माले बताउनुभयो । विश्वविद्यालयका विभिन्न क्याम्पसमा तथा केन्द्रीय विभागमा अनलाइन पठनपाठन चलाइए पनि यसको वैधानिकताको टुंगो लाग्न सकेको थिएन ।

राजधानीको पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले प्राज्ञिक परिषद्का निर्णयपछि अब स्नातक तथा स्नातकोत्तर तहका विभिन्न सेमेस्टरका कक्षा अघि बढ्ने र त्यसका लागि क्याम्पसले तयारी सुरू गर्ने जानकारी दिनुभयो । त्रिविका अनुसार व्यवस्थापनमा स्नातक तहतर्फ बीबीएमा दोस्रो, चौथो, छैटौं र आठौं सेमेस्टरका कक्षा सञ्चालन हुनेछन् । व्यवस्थापनमा एमबीएसतर्फ तेस्रो सेमेस्टरमा अध्ययन गर्न पनि विद्यार्थीलाई बाटो खुलेको छ ।

विश्वविद्यालयले पछि परीक्षा लिने गरी विद्यार्थीलाई माथिल्लो कक्षामा लैजाने निर्णय गरे पनि यसबाट धेरै विद्यार्थी अध्ययन गर्ने संकायका विद्यार्थी भने लाभान्वित हुन नसक्ने भएका छन् । व्यवस्थापनको बीबीएस, शिक्षाशास्त्रको बीएड र मानविकीको स्नातक तहका विद्यार्थी भने तत्काल यसबाट लाभान्वित हुन नसक्ने देखिएको छ । यी विषय वार्षिक प्रणालीबाट सञ्चालन हुँदै आएका छन् ।

प्राज्ञिक परिषद्का सदस्य शर्माले धेरै विद्यार्थी अध्ययन गर्ने विषय तथा क्याम्पसको हकमा शैक्षिक कार्यक्रम अगाडि बढाउन समस्या देखिएको बताउनुभयो । क्याम्पसले अनलाइन कक्षा भने सञ्चालन गर्न सक्नेछन् । ती विद्यार्थीको हकमा पनि सामान्य स्थितिको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

(गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेख्नुभएको छ ।)

सम्बन्धित
Loading...